समाज पुरानै मान्यतामा छ : सञ्जय सुदामा
मधेश प्रदेशको सर्लाही जिल्लाको बलरा नगरपालिका १० सुदामा गाउँमा रहेर साहित्य सिर्जनाको क्षेत्रमा आफ्नो पहिचान कायम गर्दै गरेका सञ्जयकुमार साहको साहित्यिक नाम सञ्जय सुदामा हो । उनी नेपाली र बज्जिका भाषामा पद्य र गद्य दुवैमा कलम चलाउँछन् । नेपाल र भारतका दर्जनौँ प्रतिष्ठित साहित्यिक पत्रिकामा रचना प्रकाशित गराउन सफल साहित्यकार सुदामाको बज्जिका भाषामा तीन खण्डकाव्य प्रकाशित छन् । बज्जी साहित्यिक त्रैमासिक पत्रिकाको कार्यकारी सम्पादकसमेत रहेका साहित्यकार सुदामाले आफ्नो परिवेशलाई बनाएर साहित्य सिर्जना गरेको पाइन्छ । प्रस्तुत छ साहित्यकार सुदामासित गरिएको पुस्तक वार्ता :
प्रश्न : तपाईंले अहिलेसम्म कतिओटा साहित्यिक पुस्तकहरू अध्ययन गर्नु भएको छ ?
– लगभग सय जति साहित्यिक पुस्तकहरू मैलै पढेको छु ।
प्रश्न : तपाइँले कहिलेदेखि साहित्यिक पुस्तक अध्ययन गर्न थाल्नुभएको छ ?
– मैले वि.सं.२०५९ सालदेखि साहित्यिक पुस्तकहरू पढ्न थालेको हुँ ।
प्रश्न : साहित्यिक पुस्तक अध्ययन गर्न चाह्नुको उद्देश्य के हो ?
– कुनै उद्देश्य राखेर मैले साहित्यिक कृतिहरु कहिल्यै अध्ययन गरिनँ । कतिपय कृतिहरु अध्ययनको सिलसिलामा कोर्समा परेको हुनाले पढेँ, कतिपय मेरो रुचिको विधा काव्य विधा परेको हुनाले पढेँ । रेल यात्राको क्रममा रेलवे स्टेशनहरुको बुक स्टलमा पाइने दर्शनका किताबहरु पढेँ, समकक्षी लेखक साथीहरूले वा अग्रजहरूले आफ्नो पुस्तक उपहार दिँदा पढेँ । कतिपय नामी साहित्यकारका कृतिहरु उनको लेखन शैलीबाट प्रभावित भएर पढेँ । प्रायः मिथक र आध्यात्मिकता भएको कृतिहरु मलाई मनपर्छ । मैले कृतिहरु छनौट गरेर पढ्नुपर्यो भने यस्तै कृतिहरु छानी पढ्छु ।
प्रश्न : साहित्यिक कृतिको कुन कुराले तपाईंलाई आकर्षित गर्छ ?
– साहित्यको लेखन शैली, मिथक, आध्यात्मिकता र आञ्लिकताजस्ता कुराहरूले मलाई आकर्षित गर्छ ।
प्रश्न : अहिलेसम्म पढेका कृतिमध्ये तपाईलाई कुन कृति राम्रो लागेको छ, किन ?
– अहिलेसम्म मैले पढेका कृतिहरुमध्ये मलाई ’बज्जिका रामाएन’ असाध्यै मन परेको छ किनभने यसमा बज्जीभूमिको भाव र बज्जिका भाषाको मीठो स्वाद पाइन्छ । यो कृति महाकवि अवधेश्वर अरुणलाई चिनाउने कालजयी कृति हो । यसमा शैलीको प्रखरता र भाषा विज्ञानको प्रक्षेपण देख्न सकिन्छ । यो पनि जब बज्जिका भाषालाई अस्वीकार गर्नेहरुको जमात अधिकांश हुन्छ । साथै यसमा उनको आध्यात्मिक साधना र चेतनाको प्रचुरता देख्न सकिन्छ । उनी यस महाकाव्यमा बज्जी लोकजीवनका रस र रङ्ग दुबै उतार्ने कौशलता देखाएका छन् । मैले देवकोटालाई बढी र तुलसी दासलाई पनि रामचरितमानसमा पढेको छु तर महाकवि अवधेश्वर अरुणको जुन क्षमता देख्छु । त्यो आसातीत र अकल्पनीय छ । बज्जिका कुनै देशको कामकाजको भाषा भएको भए । महाकवि अवधेश्वर अरुणको कीर्ति संसारमा हुन्थ्यो ।
प्रश्न : तपाईँका आफ्ना कृतिहरुमध्ये राम्रो लागेको कृति कुन हो ? के पाठकबाट त्यही कृतिको प्रशंसा पाउनुभएको छ ?
– मलाई मेरा सबै कृतिहरु मन पर्छन् । मैले ’छाँही’ खण्डकाव्यबाट धेरै प्रशंसा पाएँ । नेपालीय बज्जिकाको पहिलो काव्य भएर होला । समीक्षक साथीहरू ’सुमरी’ खण्डकाव्यलाई औधी मन पराइ दिएका छन् ।
प्रश्न : कुन विषयमा कृति लेखिन बाँकी छ जस्तो लाग्छ तपाईलाई ?
– लगभग हरेक विषयमा साहित्य रचना भइसकेको छ तर प्रगतिशील विचार र मध्यम वर्गलाई प्रतिनिधित्व गर्ने खालको साहित्य रचना अपुग भएजस्तो लाग्छ ।
प्रश्न : तपाईँ त नेपाली, हिन्दी र बज्जिका साहित्यका पाठक हुनुहुन्छ । तपाईँले चिनेका लेखकहरुमध्ये कुन भाषाको कृति बढी शक्तिशाली देख्नुहुन्छ ?
– म नेपाली भाषाका कृतिहरु शक्तिशाली देख्छु । महेशविक्रम शाहका कथा सङ्ग्रहहरू, निमेष निखिल र नवराज लम्सालका कविताहरु तथा सञ्जय मित्रका व्यङ्ग्य माधव काफ्लेका निबन्ध, समर्थनका काव्य, रमेश मोहन अधिकारीका संस्मरण । अरु पनि धेरै छन् तर ’बज्जिका रामाएन’ सबभन्दा राम्रो लाग्छ, मलाई ।
प्रश्न : साहित्यिक कृतिको मूल्यांकन के हुनुपर्छ जस्तो लाग्छ तपाईँलाई ?
– साहित्यिक कृतिको मूल्याङ्कन भनेको त्यस कृतिको पहुँच र अध्ययन व्यापक हुनुको साथै त्यसको प्रभाव समाजमा देखिनु हो । पठन संस्कृतिको विकास हुनु आफैँमा साहित्यिक कृतिको मुल्यांकन हुनु हो । साहित्यले समाजलाई निर्देशन गर्न सक्ने हुनुपर्छ ।
प्रश्न : कस्तो साहित्यिक कृतिलाई सफलताको मुख्य आधार के भएको जस्तो लाग्छ ?
– कालजयी साहित्यिक कृतिको सफलताको मुख्य आधार त्यसभित्रको विषयवस्तु, परिवेश, भाषाशील्प, भाव र दर्शन हो ।
प्रश्न : मधेश प्रदेशको साहित्यको अवस्था कस्तो छ ?
– मधेस प्रदेशको साहित्यको अवस्था समग्रमा कमजोर छ तर पनि राजेन्द्र विमल, गोपाल अश्क, निमेष निखिल, श्याम साह, धीरेन्द्र प्रेमर्षि, सञ्जय मित्रजस्ता राष्ट्रिय प्रतिभाहरु छन् ।
प्रश्न : साहित्य र समाजबिच कतिको सामञ्जस्य भएको पाउनु भएको छ ?
– छन् पनि छैनन् पनि । छ यस मामिलामा कि लेखकले टिप्ने विषयवस्तु समाजबाट नै हुन्छन् । तर लेखकले देखाउने प्रगतिशीलतामा र आदर्शमा समाज आफूलाई फिट गर्न सक्दैन । पुरानै मान्यता र जीवनशैलीमा अभ्यासरत छन् ।