हेटौंडामा ३० जनाले गरे रक्तदान

तु खबर संवाददाता
२०७९ माघ १६,सोमबार १७:३७

मकवानपुर । अनेरास्ववियू जिल्ला कमिटी मकवानपुरले सोमबार हेटौंडामा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । अनेरास्ववियू मकवानपुरले सहिद दिवस २०७९ को अवसरमा हेटौंडाको बुद्धचोकमा रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।

रक्तसंचार केन्द्र हेटौंडाको प्राविधिक सहयोगमा भएको कार्यक्रममा ३० जनाले रगत दान गरेका थिए । जसमा २७ जना पुरुष र ३ जना महिला रहेको रक्तसंचार केन्द्र हेटौंडा शाखाका प्राविधिक विष्णु रिमालले जानकारी दिए ।

रक्तदान कार्यक्रम अनेरास्ववियू जिल्ला कमिटी मकवानपुरका अध्यक्ष भुवन मैनालीको सभाध्यक्षता तथा बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणी पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

कार्यक्रममा बागमती प्रदेशका श्रम तथा रोजगार मन्त्री एकलाल श्रेष्ठ, प्रदेश युवा परिषद्का उपाध्यक्ष सन्तोष चौलागार्इं लगायतको उपस्थिति रहेको थियो ।