हिरासत फोडेर भागेकामध्ये एक जना पक्राउ

तु खबर संवाददाता
२०७९ माघ १७,मंगलवार ०८:०४
सांकेतिक तस्बिर

जनकपुरधाम । धनुषाको इलाका प्रहरी कार्यालय महेन्द्रनगरको हिरासत कक्षबाट फरार भएका ६ जना थुनुवामध्ये एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा मिथिला नगरपालिका वडा नम्वर ६ का २८ वर्षीय रोशन महतो रहेका छन् । महतोलाई धनुषाको मिथिला नगरपालिका–८ कुशुमविछौनास्थित आफन्तको घरमा लुकिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रहरीका अनुसार, उनी हातहतियार तथा खरखजाना मुद्दामा शुक्रबार पक्राउ परेका थिए । इलाका प्रहरी कार्यालय महेन्द्रनगरको हिरासत कक्षबाट भित्ता फोडेर आइतबार राति ६ जना थुनुवा फरार भएका थिए ।

अन्य पाँच जनाको खोजी तीव्र पारिएको धनुषा प्रहरीले जनाएको छ ।