निर्माण व्यवसायी संघ मकवानपुरको अध्यक्षमा ढकालको उम्मेदवारी घोषणा
हेटौंडा । निर्माण व्यवसायी संघ मकवानपुरको अध्यक्षमा श्यामसुन्दर ढकालले उम्मेदवारीको घोषणा गरेका छन् । वर्तमान अध्यक्षसमेत रेहका ढकालले पुनः संघको अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन् ।
हेटौंडामा पत्रकार सम्मेलन गरी उनले आफ्नो योजनासहित अध्यक्ष पदमा पुनः दोहोरिन चाहेको बताएका हुन् । संघको साधारणसभा माघ २८ र २९ हेटौंडामा हुँदैछ । यसअघि अध्यक्षको रुपमा योजना सहित काम गर्न चाहेको भएपनि कोरोना लगायतका कारण काम गर्न नसकिएकोले बाँकी रहेका काम पूरा गर्न आफूले अध्यक्षमा उम्मेदवारी घोषणा गरेको ढकालले बताए ।
नयाँ दररेट निर्धारण हुनु, व्यवसायीले ५ वटा मात्रै ठेक्का सम्झौता गर्न पाउने व्यवस्थाले व्यवसायीलाई निर्माणको कार्य गर्न अनुकुल भएको र संघको नेतृत्वको रुपमा आफूले व्यवसायीको हितका लागि थप कामहरु गर्ने योजना बनाएको ढकालले जानकारी दिए । हिजोका दिनमा पनि योजनासहित अघि बढेको थिएँ, कोरोनालगायतका कारणले काम गर्न सकिएन, अब बाँकी कामहरु पूरा गर्ने गरी अघि बढ्छु– ढकालले तु खबरसँग भने ।
संघलाई मजबुत बनाउन उनले आफ्नो नेतृत्वमा प्यानल नै घोषणा गर्ने समेत जानकारी दिएका छन् । यो टिमवर्कको कुरा हो, त्यसका लागि मेरो नेतृत्वमा टिम घोषणा गर्छु, उनले भने । उनले सबै व्यवसायीको हितका लागि सहयोग गर्न समेत आग्रह गरे ।
साधारणसभाबाट अध्यक्ष, तीन जना उपाध्यक्ष, महासचिव, २ जना उपमहासचिव, कोषाध्यक्ष र सहकोषाध्यक्षसहित १८ सदस्यीय नयाँ समिति चयन हुनेछ । निर्वाचित कार्यसमितिको बैठकले ४ जना सदस्य मनोनित गर्नेछ ।