कांग्रेस मनहरी गाउँपालिकाले गर्‍यो चुनावी समिक्षा

तु खबर संवाददाता
२०७९ फाल्गुन २,मंगलवार ०९:११

मकवानपुर । नेपाली कांग्रेस मनहरी गाउँपालिकाको आयोजनामा सोमबार चुनावी समिक्षा गरेको छ । कांग्रेस मनहरी गाउँपालिका सभापति प्रकाश बर्तौलाको सभाध्यक्षता तथा कांग्रेस बागमती प्रदेश सभापति एवं मकवानपुर क्षेत्र नम्बर २ को ख का प्रदेशसभा सदस्य ईन्द्रबहादुर बानियाँको प्रमूख आतिथ्यतामा कांग्रेसका क्रियाशिल सदस्य भेला तथा अन्तरक्रिया गरी चुनावी समिक्षा कार्यक्रम गरेको हो ।

भेलामा संघीय तथा प्रदेश निर्वाचनको समीक्षा, निर्वाचनमा गठबन्धनमा भएको दरार तथा गाउँपालिकामा रहेको समस्या र चुनौतीको बारे क्रियाशिल सदस्य, स्थानीय अगुवा नेताहरु तथा जनप्रतिनिधिहरुले आआफ्नो धारणा राखेका थिए ।

कार्यक्रममा क्रियाशिल सदस्य तथा जनप्रतिनिधिहरुको जिज्ञासाको जवाफ दिंदै बागमती प्रदेश सभापति एवं प्रदेशसभा सदस्य बानियाँले आगामी दिनमा पार्टीका नेता कार्यकर्ताले चाल्नुपर्ने कदमको बारेमा आफ्नो धारणा रारेका थिए ।

कार्यक्रममा कांग्रेस महासमिति सदस्य राजेश भेटवाल, कांग्रेस मकवानपुर क्षेत्र नं। २ ख का प्रदेश सभापति रञ्जन कालाखेती, महाधिवेशन प्रतिनिधि शंकर न्यौपाने, कांग्रेस मनहरी गाउँपालिका सचिव अनन्तप्रकाश अर्याललगायतले मन्तव्य व्यक्त गरेका थिए ।

भेलामा कांग्रेसको तर्फबाट निर्माण ब्यवसायी संघ मकवानपुरमा मनहरी गाउँपालिकाबाट नवनिर्वाचित सदस्यहरुलाई सम्मान गरिएको थियो ।