सन्दीपलाई धरौटीमा रिहा गर्ने उच्च अदालतको आदेश सदर
काठमाडौं । सर्वोच्च अदालतले क्रिकेटर सन्दीप लामिछानेलाई धरौटीमा रिहा गर्ने उच्च अदालत पाटनको आदेशलाई सदर गरेको छ । सर्वोच्च अदालतले सोमबार लामिछानेलाई २० लाख धरौटीमा रिहा गर्ने आदेश सदर गरेको हो ।
यस्तै, अदालतले क्रिकेट खेल्न विदेश जान दिने अनुमति दिएको छ । न्यायाधीशद्वय सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासले उक्त आदेश सदर गरेको हो । यद्यपि विदेशबाट फर्किएको १५ दिनभित्र जिल्ला अदालत काठमाडौँलाई जानकारी भने गराउनुपर्ने आदेशमा उल्लेख छ ।
नाबालिग बलात्कारको मुद्दामा जिल्ला अदालत, काठमाडौंले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो । तर उच्च अदालतले त्यसलाई उल्टाएर सशर्त धरौटीमा छाड्न आदेश दिएको थियो ।
त्यसविरुद्ध सरकारी वकिलको कार्यालय, सर्वोच्च अदालत गएको थियो भने लामिछानेले क्रिकेट खेल्न विदेश जाने अनमुति माग गर्दै निवेदन दिएका थिए ।