सेवाग्राहीका अनुहारमा सन्तुष्टि देखिने गरी काम गर्न निर्देशन

तु खबर संवाददाता
२०७९ फाल्गुन १६,मंगलवार ०८:५७
file-photo

काठमाडौं । भूमि व्यवस्थापन, सहकारी तथा गरिबी निवारण मन्त्रालयले सेवाग्राहीको अनुहारमा सन्तुष्टि देखिने गरी काम गर्न भूमि प्रशासकलाई निर्देशन दिएको छ ।

मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले कार्यालयमा पेस हुन आएका हरेक काममा मध्यस्थको होइन सेवाग्राहीको अनुहारमा सन्तुष्टि देखिने गरी काम गर्न मातहतका कार्यालय प्रमुखलाई सुझाव दिएको जानकारी दिए ।

सचिवसँग कार्यालय प्रमुख कार्यक्रममा उनले नापी र मालपोत कार्यालयका प्रमुखलाई भूमि प्रशासक, राजस्व प्रशासक, अभिलेख व्यवस्थापक र सेवा प्रदायकको भूमिकामा रही सार्वजनिक प्रशासन र शासन प्रणालीको साख अभिवृद्धि गर्ने कार्यमा सकारात्मक योगदान दिन आग्रह गरे ।

लेखापढी व्यवसायीहरूले लिने शुल्कलाई पारदर्शी बनाई सेवाग्राहीले तोकिएको भन्दा बढी रकम तिर्न नपर्ने गरी टाइमकार्ड अनुरुपको सेवा प्रदान सल्लाह दिँदै उनले सेवाग्राहीहरूको बढी भीड हुने कार्यालयले टाइमकार्ड अनुरुपको सेवा दिन प्रमुखको थप तदारुकताको आवश्यकता रहेको बताए ।

उनले कार्यालय प्रमुखलाई गुनासो पेटिका, गुनासो एकाइ, समाचार माध्यम, मन्त्रालयको सुशासन एकाइ र विभिन्न निकायमा आउने गुनासो तत्काल सम्बोधन गर्न तथा उजुरीको तत्काल फछ्र्योट गर्ने व्यवस्था मिलाउन सुझाव दिए ।