सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु

तु खबर संवाददाता
२०७९ फाल्गुन १६,मंगलवार १०:०६

सप्तरी । सप्तरीको कञ्चनरुप र हनुमाननगर कंकालिनी नगरपालिका भएका दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा परेर तीन जनाको मृत्यु भएको छ ।

जिल्लाको कञ्चनरुप नगरपालिकामा भएको दुर्घटनामा परेर दुई जनाको र हनुमानगर कंकालिनी नगरपालिकामा भएको दुर्घटनामा परेर एक जनाको गरी तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

कञ्चनरुप वडा नम्वर ९ विष्णुमन्दिर नजिक आज बिहान ३ बजे बा १८ च ६६१७ नम्वरको कार र घोडा बोकेको प्रदेश २–०२–००१ च ०७४६ नम्वरको पिकअप भ्यान ठोक्किँदा सुनसरीको दुहबी नगरपालिका वडा नम्वर ३ का ४५ वर्षीया राजकुमारी चौधरी र ४० वर्षीय हरेराम साह हलुवाईको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै, दुर्घटनामा १२ जना घाइते भएका र उनीहरुलाई उपचारका लागि विराटनगर पठाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

यसैगरी, गएराति सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–३ पोर्ताहामा भारतीय नम्वर प्लेटको कारले ठक्कर दिंदा ३५ वर्षीय एक पुरुषको मृत्यु भएको छ । ती पुरुषको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।