बलात्कार आरोपमा दुुई जना पक्राउ
भक्तपुर । १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले भक्तपुरबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दोलखा मेलुङ गाउँपालिका–५ घर भई हाल भक्तपुर मध्यपुर ठिमी नगरपालिका–१ लोकन्थली बस्ने २३ वर्षीय जय थापा भन्ने श्री थापा रहेको प्रहरीले जनाएको छ ।
ती किशोरीलाई थापाले आफ्नै कोठामा फागुन ७ गते राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले उनलाई मध्यपुर ठिमी नगरपालिका–६ पुरानो ठिमीबाट पक्राउ गरेको हो ।
यस्तै, प्रहरीले भोजपुरमा १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा षडानन्द नगरपालिका–७ भदौरे बस्ने २६ वर्षीय हरि कुमार भन्ने हरि श्रेष्ठ रहेका छन् ।
सोही नगरपालिका–६ मठेटारस्थित कच्ची बाटो नजिक श्रेष्ठले ती किशोरीलाई शनिबार साँझ जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय दिङला भोजपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । दुबै घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।