लोसपा मधेस प्रदेश र लुम्बिनी प्रदेश सरकारमा सहभागी हुने

तु खबर संवाददाता
२०७९ फाल्गुन १७,बुधबार १७:३४
file-photo

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) मधेस प्रदेश र लुम्बिनी प्रदेश सरकारमा सहभागी हुने भएको छ । ८ दलीय सत्ता गठबन्धनमा सहभागी लोसपाले संघीय सरकार र प्रदेश सरकारमा पनि सहभागी हुने भएको हो ।

लोसपाका कार्यकारिणी समिति सदस्य सर्वेन्द्रनाथ शुक्लाले मधेस प्रदेश र लुम्बिनी प्रदेशमा सहभागी हुने जानकारी दिएका हुन् । सत्ताधारी गठबन्धनमा सहभागी भइसकेपछि सरकारमा जाने कुरा स्वाभाविक हुने भन्दै उनले प्रदेश सरकारमा सहभागी हुने विषयमा छलफल भइरहेको बताए ।

लोसपाको मधेस प्रदेशमा ९ र लुम्बिनी प्रदेशमा तीन जना सांसद रहेका छन् । लोसपाका कार्यकारिणी समिति सदस्य एवम् मधेस प्रदेश समितिका अध्यक्ष जितेन्द्र सोनलले आफ्नो पार्टी केन्द्रको सरकारमा सहभागी हुने भएपछि प्रदेश सरकारमा पनि सहभागी हुने बताए ।