लागूऔषधसहित तीन जना पक्राउ
मकवानपुर । प्रहरीले मोरङ र कैलाली दुई छुट्टाछुट्टै स्थानबाट लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले मोरङको विराटनगर महानगरपालिका–१५ स्थित १ नम्बर ढाटबाट लागूऔषध लुपिजेशिक ५० एम्पुल, एभिल ५० एम्पुल, डाईजेपाम ५० एम्पुल र फेनारगन ५० एम्पुलसहित २ जनालाई मंगलबार दिउँसो पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा केराबारी गाउँपालिका–७ बस्ने १९ वर्षीय दिपेश मगर र झापा दमक नगरपालिका–४ बस्ने १९ वर्षीय राजन बिक रहेका छन् । भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुलाई लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त परिमाणको लागूऔषध बरामद भएपछि पक्राउ गरिएको हो ।
यस्तै, प्रहरीले कैलालीको गोदावरी नगरपालिका–१ महेन्द्रनगर रोडस्थित आश्रम टोल बस्ने २८ वर्षीय भरत बिकलाई अवैध लागूऔषधसहित मंगलबार दिउँसो पक्राउ गरेको छ । प्रहरीले खैरो हेरोईन जस्तो देखिने पदार्थ ४ सय २० मिलिग्रामसहित बिकलाई पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त लागूऔषधसहित फेला पारी उनलाई पक्राउ गरेको हो । दुबै घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको जनाइएको छ ।