बेचविखनको जोखिममा परेका दुई जनाको उद्धार
![](https://www.tukhabar.com/wp-content/uploads/2019/04/udar.png)
वीरगञ्ज । बेचबिखनको जोखिममा परेका दुई जना महिलाको वीरगञ्जबाट उद्धार गरिएको छ । मानव बेचबिखन नियन्त्रणका लागि काम गर्दै आएको संस्था आफन्त नेपालले दुई जनाको उद्धार गरेको हो ।
सर्लाही घर भएकी १४ वर्षीया बालिका र सुनसरीको धरान बस्ने २६ वर्षीया महिलाको उद्धार गरिएको आफन्त नेपाल वीरगञ्जले जनाएको छ । संस्थाकी प्रमुख सुनिता सापकोटाका अनुसार, २६ वर्षीया युवती लागूऔषध सेवन गरेर बेवारिसे अवस्थामा सीमा नाका क्षेत्रमा फागुन २१ गते भेटिएकी थिइन् भने १२ वर्षीया बालिकालाई आमाको समेत सहमति लिएर दुई जना भारतीय नागरिकले हरियाणा लैजाने तयारी गरेका थिए ।
दुवै जनालाई अस्थायी आवास गृहमा राखेर सम्झाइ बुझाइ गरेर प्रहरीको रोहबरमा अभिभावकको जिम्मा लगाएको सापकोटाले बताइन् ।
प्रहरीले महिलाको उद्धारसँगै दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । जाहेरी नपरेकोले उनीहरु विरुद्ध मुद्धा चलिसकेको छैन । अनुसन्धानकै क्रममा रहेको भन्दै प्रहरीले पक्राउ परेका भारतीय नागरिकहरुको पहिचान गोप्य राखेको छ ।