कांग्रेस मकवानपुरद्वारा नेवि संघका अध्यक्ष शेर्पालाई बर्खास्त गर्न माग

मकवानपुर । नेपाली कांग्रेस मकवानपुरले नेपाल विद्यार्थी संघ (नेविसंघ) का केन्द्रीय अध्यक्ष दुजाङ शेर्पालाई बर्खास्त गर्न माग गरेको छ । कांग्रेस मकवानपुरका सभापति बुद्ध लामाले बुधबार पार्टीका केन्द्रीय सभापति शेरबहादुर देउवालाई पत्र पठाउँदै नेविसंघ अध्यक्ष शेर्पालाई बर्खास्त गर्न माग गरेका हुन् ।
सभापति देउवालाई पठाएको पत्रमा कांग्रेस मकवानपुरले सर्वसम्मत सिफारिस गरेको नेविसंघ मकवानपुरका अध्यक्ष सुवास सापकोटालाई बर्खिलाप गरी स्ववियु चुनावमा नेविसंघलाई असफल बनाउने भूमिका साथ मकवानपुरमा नेविसंघ साधारण सदस्यसमेत नरहेका व्यक्तिलाई अध्यक्ष बनाइएको भन्दै त्यसतर्फ कांग्रेस मकवानपुरको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ ।
नेविसंघ मकवानपुरले सापकोटाको नेतृत्वमा स्ववियु निर्वाचनसम्बन्धी गतिविधि सञ्चालन गरिरहेको र पार्टीका तर्फबाट सहसचिव इन्दिरा न्यौपानेको संयोजकत्वमा ५ सदस्यीय स्ववियु परिचालन समितिसमेत गठन गरिएको पत्रमा उल्लेख गरिएको छ ।
नेविसंघ अध्यक्ष शेर्पाले बुधबार नै एक विज्ञप्ति जारी गरी भिषण ठकुरी नेतृत्वको जिल्ला कार्यसमितिबाहेक अरू कुनै पनि कार्यसमिति अस्तित्वमा नरहेको उल्लेख गरेका थिए ।