२०७९ का ‘झरना’ मा मकवानपुर बाहिरका सिर्जना

सञ्जय साह मित्र
२०७९ फाल्गुन २५,बिहीबार १४:३५

झरना साहित्यिक परिवार मकवानपुरको प्रकाशन ‘झरना’ २०७९ मा ३० औँ वर्षको उमेरमा छ । यस वर्ष ‘झरना’ का दुई अङ्क ३८ र ३९ प्रकाशित भए । आवरण पृष्ठबाहेक दुवै अङ्क समान ४० पृष्ठका छन् । वासुदेव खनाल र सम्झना आचार्य संरक्षक, डा. घनश्याम परिश्रमी, रमेशमोहन अधिकारी, उद्धव सापकोटा, जनार्दन खनाल, परशुराम गौतम, नारायण चापागाइँ र भरत सापकोटा सल्लाहकार, विश्वनाथ सञ्जेल सम्पादक, गायत्री रुपाखेती, सन्तराम राई, अमृता लामिछाने व्यवस्थापक रहेको ‘झरना’ दुवै अङ्को टङ्कण मेनु तिमल्सिना र लेआउट आकृति व्रिmएसन प्रालि हेटौंडाले गरेको हो । ‘झरना’ लाई सबैले साहित्यिक पत्रिका मानेका छन् । मकवानपुरबाट लामो समयदेखि प्रकाशनरत ‘झरना’ले आफ्नै पहिचान बनाइसकेको छ ।

२०७९ का ‘झरना’ मध्ये अङ्क ३८ मा अमृता लामिछाने, विश्व राई, विश्वनाथ सञ्जेल, चिरञ्जीवी लामिछाने, देवनायक शर्मा, ध्रुव सञ्ज्याल, दीपक गौतम, जनार्दन खनाल, गायत्री रुपाखेती, कुमार स्याङ्बो, मेनु तिमल्सिना, निसा केसी, प्रेम बोम्जन, रचना तिमल्सिना, रमेश समर्थन, रमेशमोहन अधिकारी, शुभलक्ष्मी प्रभा, सुवास खनाल, प्रवीणा नेपाली, सन्तोष विक, रेणु घले र मसान उपासकका विभिन्न विधाका रचना प्रकाशित छन् । रचनासँगै रचनाकारकको ठेगाना पनि अन्त्यमा दिइएको छ । यसै आधारमा अङ्क ३८ मा देवनायक शर्मा, ध्रुव सञ्ज्याल, निसा केसी, रचना तिमल्सिना मकवानपुरभन्दा बाहिरका हुन् । केही रचनाकारको ठेगाना उल्लेख गरिएको छैन । तीमध्ये रमेश समर्थन पनि मकवानपुर बाहिरको हुनुपर्छ ।

नवलपरासीका देवनायक शर्माको ‘चाहना’ शीर्षकको कवितामा देशभक्ति मूल विषय रहेको छ । लघुआयामको यस रचनामा कविले नेपालीहरू पौरखी बन्नुपर्ने र एकताको सूत्रमा बाँधिएर देश विकासमा सबै लाग्नुपर्ने बताइएको छ । पार्टीको भजनभन्दा देशको गान गर्न कवितामा आह्वान गरिएको छ । कविले आफ्नो चाहना यसरी अभिव्यक्त गर्दछन्:

विद्या विनयले युक्त बनून् जन्ता पराक्रमी
सम्मृद्धि कार्यमा आओस् अरु चाहन्न क्यै पनि ।

कालिकोट हाल चितवनका ध्रुव सञ्ज्यालका मुक्तक’ शीर्षकमा तीन मुक्तक प्रकाशित छन् । पहिलो मुक्तका निराशावादी रहेको छ । कोहीबिना एक पल मात्र नरमाइलो हुने तर आमाबिना घर नै शून्य हुने प्रथमपुरुष दृष्टिविन्दुमा बताइएको छ । दोस्रो मुक्तकमा विकृतिमाथि प्रश्नमाथि निकै कडा प्रहार गरिएको छ । क्षमताको मापन गर्ने कुरामा प्रश्न उठाइएको छ । आफ्नोपनको विज्ञापन गर्न लजाउने हामीले शरीर बेच्नेको विज्ञापन पनि हेरिरहेका छौँ भनिएको छ । तेस्रो मुक्तकमा देशको राजनैतिक अस्थिरताप्रति असन्तोष प्रकट गरिएको छ ।

काठमाडौँकी निसा केसीको ‘मुक्तक’ शीर्षकमा तीन मुक्तक प्रकाशित छन् । पहिलो मुक्तकमा स्वाभिमान झल्किएको छ । प्रथम पुरुष दृष्टिविन्दुमा लेखिएको यस मुक्तकले हरेकको मूल्य खोज्ने निश्चित विधि हुन्छ बताउँदै जहाँतहीँ र मन लागेको कसीमा गरिएको मूल्याङ्कन मूल्यहीन हुने स्पष्ट पारेको छ । दोस्रो मुक्तकले बाह्यावरणले नै पहिचानको निर्णय सही नहुने बताएको छ । सतही देखाइमा कसैले कसैलाई केही भनेर चिन्दा फरक पर्ने कुरालाई यसले राम्ररी स्पष्ट पारेको छ । तेस्रो मुक्तकले पनि झन्डै यही भाव व्यक्त गरेको छ । तीन मुक्तकमा तेस्रो चाहिँ अत्यन्त कलात्मक र उच्च कोटिको अभिव्यक्ति क्षमता रहेको छ । मुक्तकारको अभिव्यक्ति ओज यस मुक्तकबाट स्पष्ट हुन्छ:

जङ्गलमा मृगजस्तै देखिने चित्तल हुन्छ
देखिन्छ दुरुस्तै सुन तर पित्तल हुन्छ
सोचेकै थिइनँ यो जलपको दुनियाँमा
कसैको साथ छुट्दा पनि शीतल हुन्छ ।

रुपन्देहीका रमेश समर्थनको ठेगाना खुलाइएको छैन । समर्थनको गजल प्रकाशित छ । यो आशावादी रचना हो । पाँचओटा शेरको समर्थनको गजल गजलीय संरचनाअनुसार विषय वैविध्य रहे पनि आशावादिता भने हरेक शेरको गहना छ । गजलको विषयवस्तु प्रेम हुने गर्छ । यस गजलको विषयवस्तु प्रेम होइन, भन्न सकिन्न । गजल प्रतीकात्मक छ । अभिधामा प्रेम नदेखिन सक्छ तर प्रेमको दृष्टिकोणले हेर्ने हो भने हरेक गजलमा प्रेमको दर्शन हुन्छ । गजलको दोस्रो शेरले मन छुन्छ :

जुन घरमा म पुगें मात्र एउटा दियो खोज्दै
कोही मेरै प्रतीक्षामा थियो आरती लिएर ।

‘आउनुहोस्, एकछिनलाई जाऔँ पिपरा !’ शीर्षकमा रमेशमोहन अधिकारीले संस्मरण लेखेका छन् । यसको सम्पूर्ण विषयवस्तु रौतहटको हो । संस्मरणकारको रचनाको अन्त्यमा ‘लेखन ः २०५९’ उल्लेख गरिएको छ । संस्मरणकारले ठेगाना उल्लेख गरेको भए राम्रो हुन्थ्यो ।
अधिकांश लेखकले फुटकर रचना प्रकाशनार्थ कतै प्रेषित गर्नुपर्दा रचनाको अन्त्यमा आफ्नो ठेगाना लेख्ने गरेका छन् । सबैले लेख्छन् नै भन्ने होइन । लेखकले रचनाको अन्त्यमा ठेगाना लेख्नै पर्दछ भन्ने पनि होइन । लेखकले म कुन जिल्लाको भन्ने छुट्याउन नचाहँदा वा ठेगाना नलेखिकनै परिचित छु भन्ने अवस्थामा ठेगाना लेख्दैनन् । कहिलेकाहीँ पत्रिकाले ठेगाना छाप्न नसक्ने स्थिति पनि हुन्छ । ‘झरना २०७९’ को दुवै अङकका केही रचनाकारको ठेगाना खुलाइएको छैन । केही रचनाकारको ठेगाना खुलाइए पनि जिल्ला स्पष्ट लेखिएको छैन । जिल्ला नलेखिँदा मकवानपुर भनेर बुझ्नुपर्ने अवस्था छ । ठेगाना उल्लेख नगरी अङ्क ३८ मा विश्वनाथ सञ्जेल, दीपक गौतम, रमेश समर्थन र रमेशमोहन अधिकारीका रचना प्रकाशित छन् ।

झरनाको ३८औँ अङ्कमा मकवानपुर जिल्लाका रचनाकारहरू निकै कम परेका छन् । मकवानपुरको पत्रिका भएकोले मकवानपुरका सर्जकहरू बढी र मकवानपुरमा पनि बकैयाको ठेगाना भएका रचना बढी सङ्कलित छन् । मकवानपुरबाहिरबाट परेका रचनाहरू स्तरीय छन् । यी रचनाहरूले पत्रिकालाई अझ बढी पठनीय बनाउन सहयोग पु¥याएका छन् । झरनाले मकवानपुर र बाहिर पनि आफ्नो महक झरनामार्फत पु¥याएको छ । यस अर्थमा झरना ३८ मा बाहिरको उपस्थिति तुलनात्मक कम छ ।
(क्रमशः)
(मकवानपुरको महक: शृङ्खला १४)