राष्ट्रपति निर्वाचनमा ८३१ मत खस्यो
काठमाडौं । राष्ट्रपति चयनको लागि भएको मतदानमा कुल ८३१ मत खसेको छ । नयाँ बानेश्वरस्थित संसद् भवनमा बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म संचालन भएको मतदानमा कुल ८३१ मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
मतदानमा कुल ८८४ जना मतदाता रहेकामा संघीय संसदतर्फ १५ जना तटस्थ रहे भने २ जना सांसद बिरामी रहेका कारण अनुपस्थित भएका थिए ।
यस्तै, एक जना निलम्बित रहेका छन् भने एक जना सांसद फरार रहेका कारण मतदानमा सहभागी भएनन् । यस्तै, रवि लामिछानेको एउटा पद रिक्त रहेको र अर्का एक जना सांसदको मृत्यु भएको अवस्था छ ।
यसैगरी, प्रदेशतर्फ ५५० जनामध्ये ५१८ मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । अब केहीबेरमा मतगणना सुरु हुँदैछ ।
राष्ट्रपति उमेदवारका प्रतिनिधिहरुसँग निर्वाचन आयोगले गरेको मतगणना सम्बन्धि बैठकमा दिउँसो ४ बजेदेखि मतगणना सुरु गर्ने सहमति भएको हो ।
बैठकले मतपेटिका खोल्दा पत्रकारको उपस्थिति खुल्ला गर्ने निर्णय पनि गरेको छ । संघीय सांसदहरुका लागि रातो र प्रदेश सभा सदस्यहरुका लागि हरियो रंगको मतपत्र बनाइएको थियो । मतपत्रमा उम्मेदवारहरुको नामसहित फोटो पनि राखिएको थियो ।
राष्ट्रपति निर्वाचनको लागि ९ दलीय गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र नेकपा एमालेबाट सुवास नेवाङ उम्मेदवार बनेका छन् ।