हेटौंडा सामुदायिक आँखा अस्पताल : एक वर्षमा ९७४०९ जनाले पाए सेवा

तु खबर संवाददाता
२०७९ चैत्र २,बिहीबार ०९:४४
file-photo

मकवानपुर । हेटौंडा सामुदायिक आँखा अस्पतालले एक वर्षको अवधिमा ५ हजार २६४ वटा आँखासम्बन्धि शल्यक्रिया गरेको छ । सन् २०२२ मा मात्रै अस्पतालले ३ हजार ७७८ वटा ठूला र १ हजार ४८६ वटा माइनर अप्रेशन गरेको अस्पतालका व्यवस्थापक सुधिर श्रेष्ठले जानकारी दिए ।

सो अवधिमा अस्पतालले ९७ हजार ४०९ जना सेवाग्राहीलाई उपचार सेवा प्रदान गरेको छ । जसमा ३ हजार ९८६ जनाले आकस्मिक सेवा प्राप्त गरेका हुन् । अस्पतालले एक वर्षको अवधिमा मकवानपुर, बारा, सिन्धुली, रौतहट, सर्लाहीलगायत जिल्लाका ग्रामिण क्षेत्रमा ५९ वटा निशुल्क आँखा शिविर सञ्चालन गरेको छ । जसमा १२ हजार ३३६ जनाले उपचार सेवा प्राप्त गरेको व्यवस्थापक श्रेष्ठले बताए ।

ग्रामीण भेगमा पुगेर गरिएको निःशुल्क जाँचपश्चात शल्यक्रिया गर्नुपर्ने अवस्थाका बिरामीहरुलाई अस्पतालले निःशुल्क सेवा उपलब्ध गराएको छ । १ हजार ७३६ जना सेवाग्राहीले साना तथा ठूला शल्यक्रिया सेवा नि:शुल्क प्राप्त गरेका हुन् ।

गैर नाफामुलक संस्थाको रुपमा सञ्चालित सो अस्पतालमा दैनिक ३ सयको हाराहारीमा आँखा जाँचको लागि सेवाग्राहीहरु आउने गरेका छन् । अस्पतालले आँखा जाँच तथा विरामीको अवस्था हेरेर शल्यक्रिया सेवा उपलब्ध गराउँदै आएको छ ।

स्वास्थ्य बीमा कार्यक्रम लागू भएसँगै बिरामीको चाप बढ्न थालेको अस्पताल प्रशासनले जनाएको छ । अस्पतालमा आउने विरामीमध्ये ५० प्रतिशत बिरामीले स्वास्थ्य बीमा मार्फत् सेवा लिइरहेको जनाइएको छ ।