एक महिनामा साढे ६१ हजारभन्दा बढी नेपाली विदेशिए
![](https://www.tukhabar.com/wp-content/uploads/2022/07/baideshik_rojgar_bivag.jpg)
काठमाडौं । एक महिनाको अवधिमा कामको सिलसिलामा साढे ६१ हजारभन्दा बढी नेपाली विदेशिएका छन् । वैदेशिक रोजगार विभागका अनुसार, फागुन महिनाको अवधिमा ५६ हजार ७१९ जना पुरुष र ५ हजार १२६ जना महिलागरी ६१ हजार ८४५ जना नेपाली विदेशिएका हुन् ।
विदेशिने संख्या फागुनमा अघिल्लो महिना (माघ)को तुलनामा भने केही कम देखिएको छ । माघमा ६४ हजार २८४ जना युवा विदेशिएका थिए ।
तथ्यांक अनुसार फागुन महिनामा मलेसियाका लागि १९ हजार ८२४ जना, कतारका लागि ११ हजार ३०३ जना, युनाइटेड अरब इमिरेट्समा मात्र ९ हजार ७९५ जना, साउदी अरबमा ९ हजार ५०३ जना, कुवेतका लागि २ हजार ४६२ जनाले स्वीकृति लिएका छन् ।
यस्तै, कोरियामा २ हजार २२७ जना, रोमानियामा १ हजार ७० जना, जापानमा ८७१ जना, पोल्याण्डमा ६ सय र बहराइनमा ५९५ जनाले स्वीकृति लिएको विभागको तथ्यांक छ ।