साहित्य संगम मकवानपुरद्वारा साह सम्मानित हुने
मकवानपुर । साहित्य संगम मकवानपुरले तु खबर डटकमका स्तम्भकार एवम् अग्रज साहित्यकार तथा पत्रकार सञ्जय साह मित्रलाई सम्मानित गर्ने भएको छ । संगमले आउँदो वैशाखमा आयोजना गर्ने दुई दिने महोत्सवमा साहलाई सम्मान गर्ने भएको हो ।
भैरव अर्याल स्मृति सम्मान २०७९ मकवानपुरमा रहेर लामो समय साहित्य लेखन, पत्रकारिता, व्याङ्ग्य र बज्जिका भाषामा निरन्तर साधनारत साहलाई प्रदान गर्न लागिएको हो । हास्यव्यगयकार भैरव अर्याल परिवारको सहयोगमा साहित्य संगम मकवानपुरले व्यङ्ग्य क्षेत्रमा प्रदान गर्दै आएको यो पुरस्कार २१ हजार १११ रुपैयाँ राशी रहेको छ ।
त्यसैगरी, संगमले साहित्यकार छवि अनित्यलाई रामहरि देबु युवा सम्मान प्रदान गर्न लागेको हो । यो पुरस्कार साहित्यकारद्वय ऋषि केबी र पुण्यशिला श्रेष्ठले मातापिता सासुससुराको नाममा स्थापना गरेका हुन् ।
त्यसैगरी संगमले २५ हजार राशीसहितको साहित्य संगम मकवानपुर स्मृति कृति सम्मान २०७९ का लागि कथा संग्रह अपरिचित अनुहारका लागि साहित्यकार महेश पौडेललाई प्रदान गरिने भएको छ । साहित्य संगम मकवानपुर संस्थापक साहित्यकार केशव श्रेष्ठ ‘ज्योती’ ले संगमको नाममा पुरस्कार स्थापना गरेका थिए । २०७८ सालभित्र प्रकाशित भएका कथाका कृतिहरुमध्येबाट उनलाई पुरस्कृत गर्न लागिएको अध्यक्ष अनिता न्यौपानेले जानकारी दिइन् ।
संगमले जानकारी दिए अनुसार, सो महोत्सवमा विभिन्न क्षेत्रबाट ११ जना स्रष्टालाई विभिन्न सम्मान तथा पुरस्कार प्रदान गर्नेछ । साहित्यकार मनु मञ्जिल, शम्भु बाँस्कोटा, सुदेश सत्याल, पूर्णकला घिमिरे, बिना थिङ, श्यामकृष्ण ज्ञवालीलगायतका लाई पुरस्कृत तथा सम्मानित गरिनेछ ।