हेटौंडामा स्वरोजगारमूलक ४ प्रकारका तालिम सुरु
मकवानपुर । हेटौंडामा आइतबारबाट स्वरोजगारमूलक ४ प्रकारका तालिम सुरु भएको छ । उक्त तालिम बागमती प्रदेश युवा परिषद्को आर्थिक सहयोगमा जिल्ला युवा परिषद् मकवानपुरले आयोजना गरेको हो ।
तालिमको उद्घाटन बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्री कुमारी मोक्तानले गरेकी हुन् । हाम्रो प्रशिक्षण सेवा तालिम केन्द्र, कान्तिपुर बहुप्राविधिक शिक्षालय र नारायणी प्राविधिक शिक्षालयले तालिम कार्यक्रम सञ्चालन गर्नेछ ।
३९० घण्टे निःशुल्क तालिममा ९० जना युवा सहभागी रहेका छन् । जसमा स्वरोजगारमूलक तालिम अन्तर्गत वारिस्टा (कफी बनाउने) मा २५ जना, इण्डष्ट्रियल ईलेक्ट्रिसियनमा २५ जना, बारबर (कपाल काट्ने) मा २० जना र मण्टेश्वरीमा २० जना रहेका छन् ।
जिल्ला युवा परिषद् मकवानपुरका अध्यक्ष सुमन पाख्रिनको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईको विशेष आतिथ्य रहेको थियो ।