सत्ता गठबन्धनको बैठक सुरु
काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक सुरु भएको छ । मन्त्रालयको भागबन्डा मिलाउन र सरकारको न्युनतम साझा कार्यक्रमलाई अन्तिम रुप दिन बिहान ९ बजेका लागि बोलाइएको सत्ता गठबन्धनको बैठक केहीबेर अघिबाट मात्रै सुरु भएको हो ।
मंगलबारको बैठकमा मन्त्रालय बाँडफाँटबारे छलफल भएपनि कुनै सहमति हुन सकेको थिएन । दलहरुले आकर्षक मन्त्रालयमा आ–आफ्नो दाबी नछोडेपछि सहमति जुट्न सकेको थिएन ।
त्यसपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बैठकमा १९ बुँदा समेटिएको सरकारको न्यूनतम कार्यक्रमबारेको मस्यौदा पेस गरेका थिए । ‘संयुक्त सरकारको प्राथमिकता र साझा न्यूनतम कार्यक्रम’नाम दिइएको मस्यौदामा दुई शीर्षक र धेरै उपशीर्षकहरू रहेका छन् ।
साझा कार्यक्रममा सहमति जुटाएर मन्त्रालय बाँडफाँटको आफ्नो खाका बैठकमा पेस गर्ने प्रधानमन्त्रीको तयारी छ ।