कोरोना संक्रमणका कारण १ जनाको मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण एक जनाको मृत्यु भएको छ । वीर अस्पतालमा उपचाररत् ७८ वर्षीय वृद्धको संक्रमणका कारण मृत्यु भएको अस्पतालले जनाएको छ ।
अस्पतालका अनुसार, ती वृद्ध गत चैत्र १९ गते अस्पताल भर्ना भएका थिए । भर्ना हुन आउँदै उनमा गम्भीर निमोनियाको समस्या देखिएपछि अस्पतालले सुरूदेखि नै आइसियूमा राखेर उपचार गरेको थियो । तर, आइसियूमा पनि सुधार नभएपछि गत शनिबारदेखि भने उनलाई भेन्टिलेटरमा राखिएको थियो ।
मृतक वृद्ध पहिलेदेखि नै मधुमेहका रोगी थिए । मृतक वृद्धको शव आजै बिहान नेपाली सेनालाई दाहसंस्कारका लागि जिम्मा दिइएको जनाइएको छ ।
नेपालमा कोरोना संक्रमण कारण तीन महिनापछि उनको मृत्यु भएको हो । पछिल्लो पटक गत पुस २३ गते संक्रमणका कारण एक जनाको मृत्यु भएको थियो ।
देशभर थप १०६ जनामा कोरोना संक्रमण पुष्टि छ भने मंगलबार ४८ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या ४६९ जना रहेका छन् ।