६ वर्षीय बालकमा भेटियो कालाजार
बाजुरा । गर्मीयाम सुरु भएसँगै बाजुरामा कालाजारका बिरामी भेटिएका छन् । जिल्लाको हिमाली गाउँपालिका–३ बौडीका ६ वर्षीय बालक निमा छिरिङ थापालाई कालाजार देखा परेको जिल्ला अस्पताल बाजुराले जनाएको छ ।
लगातार तीन महिनादेखि बिरामी भई थला परेका उनको स्थानीय स्वास्थ्य संस्थामा उपचार गर्दा निको नभएपछि बुधबार बेलुकी जिल्ला अस्पतालमा भर्ना गरिएको थियो । उपचारका क्रममा बालकमा कालाजार रोग भेटिएको अस्पतालका सूचना अधिकारी नृपराज गिरीले जानकारी दिए ।
उनका अनुसार बालकमा कालाजारका साथै कुपोषण छ भने शरिरमा दुई प्वाइन्ट मात्र रगत छ । ती बालकको अहिले आइसीयुमा उपचार भइरहेको र थप उपचारका लागि सुविधायुक्त अस्पताल पठाउने तयारी भइरहेको छ ।
गर्मीयाममा घर आगन अगाडि हुने फोहर र खाल्डामा पानी जम्ने भएकाले लामखुट्टे लाग्ने र लामखुट्टेले टोकेपछि कालाजार रोग लाग्ने अस्पतालले जनाएको छ ।