‘नयाँ वर्षले नयाँ अवसर र सम्भावनाको क्षितिज खोल्न सकोस्’
मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले नयाँ वर्ष २०८० ले नयाँ अवसर र सम्भावनाको क्षितिज खोल्न सकोस् भनि शुभकामना दिएका छन् ।
प्रदेश प्रमुख शर्माले एक सन्देश जारी गर्दै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाई दिदीबहिनीहरूमा सुख, शान्ति संमृद्धि र सुस्वास्थ्यको लागि शुभकामना व्यक्त गरेका हुन् ।
‘हाम्रो बिचमा रहेको सद्भाव, भातृत्व र सहिष्णुता अझ प्रगाढ र कसिलो बन्न सकोस्, स्थायी शान्ति, दिगो विकास र आर्थिक समुन्नतिको मार्ग प्रसस्त हुन सकोस्’ शर्माले भने ।
उनले जारी गरेको शुभकामना सन्देशमा भनिएको छ, ‘विक्रम संवत २०७९ मा झुण्डिएको भित्तेपात्रोले अवकाश पाएको छ र विक्रम संवत २०८० को पात्राले नेपाली घरका भित्ताहरूमा आजदेखि पदबहाली गरेको छ ।’
नयाँ पात्राको पदवहालीको यो दिनलाई हामी नववर्ष भन्दछौं भन्दै प्रदेश प्रमुख शर्माले भनेका छन्, ‘यो नयाँ वर्षमा संमृद्ध जीवनका सपना साकार पार्ने सार्थक प्रयत्न हामी सबैले गर्न सकौं ।’
उनले संविधानले निर्धारित गरेको लक्ष्य र राष्ट्रले तय गरेको गन्तव्यमा पुग्न हाम्रो दृढ निश्चय र कठोर सङ्कल्प चाहिने बताए । यसले संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास र सुदृढिकरणमा थप टेवा पुर्याउन सक्ने उनको भनाई छ ।