निमावि तहको ११६७ शिक्षकका लागि ७५ हजारको आवेदन

तु खबर संवाददाता
२०८० बैशाख ४,सोमबार ०८:५८

काठमाडौं । शिक्षक सेवा आयोगले माग गरेको निम्न माध्यमिक तहको १ हजार १६७ शिक्षकका लागि ७५ हजार ७७५ जनाको आवेदन परेको छ ।

आयोगका अनुसार, सबैभन्दा धेरै नेपाली विषयमा आवेदन परेको छ । नेपाली विषयको ९१ पदका लागि २४ हजार १६४ आवेदन परेको छ ।

यस्तै, अंग्रेजी विषयको १५३ पदका लागि १७ हजार ३३६, गणितको १५८ पदका लागि ८ हजार ५१४, विज्ञानको २९० पदका लागि ३ हजार ८९४ जनाले आवेदन दिएका छन् ।

सामाजिक विषयको १११ पदका लागि १९ हजार ९४१, गणित विज्ञानमा ३५५ पदका लागि १८ हजार ६८ जनाको, संस्कृत भाषाको ४ पदका लागि ३८ जनाको, संस्कृत व्याकरणमा ३ पदका लागि १३ जनाको, संस्कृत कर्मकाण्डको १ पदका लागि ६ जनाको र शुक्लयुजर्वेद एक पदका लागि लागि दुई जनाको आवेदन परेको छ ।

आयोगको सूचना अधिकारी सुदर्शन मरहट्टाले यसपटक माग गरिएको संख्या कम भएकोले आवेदन पनि कम परेको बताए । आयोगले निमावि तहको सामान्यतर्फको परीक्षा बैशाख ९ मा सञ्चालन गर्ने तयारी गरेको छ ।

शिक्षक सेवा आयोगले प्रावि तहमा ७ हजार ८८२ शिक्षक पनि माग गरेको छ । जसमा नियमित शुल्क तिरेर ८ वैशाखसम्म र दोब्बर दस्तुर तिरेर १५ वैशाखसम्म आवेदन दिन सक्ने आयोगले जनाएको छ ।

आइतबारसम्म ५४ हजार भन्दा बढीले आवेदन दिइसकेका छन् । प्रावि तहको सामान्यतर्फको परीक्षा जेठ २० गते सञ्चालन हुनेछ ।