५९ जिल्लाका विद्यालयमा पुग्यो पाठ्यपुस्तक

तु खबर संवाददाता
२०८० बैशाख ४,सोमबार १६:५९
file-photo

काठमाडौं । नयाँ शैक्षिक सत्र सुरु भएसँगै देशभरका ५९ जिल्लाका विद्यालयहरूमा पाठ्यपुस्तक पुगेको छ । गत चैत्र २४ गतेदेखि बैशाख ३ गतेसम्म देशभरका ५९ जिल्लाका विद्यालयहरूमा पाठ्यपुस्तक पुगेको जनक शिक्षा सामग्री केन्द्रले जनाएको छ ।

सोमवार पाठ्यपुस्तक बिक्री वितरण र छपाइको विषयमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले जनक शिक्षा सामग्री केन्द्रमा अनुगमन गरेको छ । अनुगमनपश्चात् जनक शिक्षा सामग्री केन्द्रका प्रबन्धक अनिलकुमार झाले नयाँ शैक्षिक सत्रमा सबै विद्यार्थीको हातमा पाठ्यपुस्तक पुर्याउने गरी काम भइरहेको बताए ।

उनले जनक शिक्षा सामग्री केन्द्रले कक्षा ६ देखि १० कक्षासम्मका १ करोड ५० लाख पाठ्यपुस्तकहरू छपाइको काम सम्पन्न गरी बिक्री वितरण गरिहरेको जानकारी दिए ।

उनले अब बाँकी १८ जिल्लामा बैशाख १५ गतेसम्म पुस्तक पुग्ने बताए । पुस्तक वितरण हुन बाँकी जिल्लाहरुमा सोलुखुम्बु, धनकुटा,मोरङ, सुनसरी, झापा, सिराहा, सर्लाही, बारा, पर्सा, रुपन्देही, बाँके, बर्दिया, दैलेख, सुर्खेत, डोटी, डडेलधुरा, कञ्चनपुर र कैलाली रहेका छन् ।

ती जिल्लाका विद्यालयहरूमा ३ दिन भित्रमा पुस्तक पुग्ने उनले जानकारी दिए । सामग्री केन्द्रका अनुसार बिक्री वितरण हुन बाँकी जिल्लाहरूका केन्द्रीय कार्यालय तथा प्रादेशिक कार्यालयहरूबाट पाठ्यपुस्तक बिक्रीवितरण कार्य भइरहेको छ ।