१६ जना मोतियाविन्दुका बिरामीको निःशुल्क शल्यक्रिया

तु खबर संवाददाता
२०८० बैशाख ७,बिहीबार ०९:४७

मकवानपुर । मकवानपुरको कैलाश गाउँपालिकाका १६ जना मोतियाविन्दु भएका बिरामीको आँखाको निःशुल्क शल्यक्रिया गरिएको छ । मंगलबार हेटौंडा सामुदायिक आँखा अस्पतालमा उनीहरुको शल्यक्रिया गरिएको हो ।

गएको चैत्र २९ गते कैलाश गाउँपालिका वडा नम्वर–३ कालिकाटारमा आयोजना गरिएको आँखा शिविरमा १८६ जना आँखाका विरामीको परीक्षण गरिएकोमा २१ जनामा मोतियाविन्दु देखिएको थियो ।

शिविरमा पहिचान भएका बिरामीहरुमध्ये मंगलबार १६ जनाको आँखाको शल्यक्रिया गरिएको हो । ५ जना बिरामी भने व्यक्तिगत कारणले आउँन नसकेको र उनीहरुलाई छिट्टै शल्यक्रियाको व्यवस्था मिलाइने कैलाश गाउँपालिका स्वास्थ्य शाखाका सुधिर महतोले बताए ।

गाउँपालिकाबाट आँखा अस्पतालसम्म आउन जान पालिकाले बस भाडा उपलब्ध गराएको अध्यक्ष लोकबहादुर मुक्तानले बताए । साथै पालिकाले प्रत्येक बिरामीलाई एक–एक वटा चस्मा र फलफुल तथा पौष्टिक खानेकुरा उपलब्ध गराएको उनले जानकारी दिए ।

बागमती प्रदेश सभा सदस्य तथा नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले आँखा अस्पताल पुगेर बिरामीसँग भेटघाट गर्नुकासाथै फलफुल तथा पौष्टिक खानेकुरा हस्तान्तरण गरेका थिए ।

उनले शल्यक्रिया गरेका बिरामीको आँखाको पट्टीसमेत खोलिदिएका थिए । बिरामी भेट्न गाउँपालिका अध्यक्ष मुक्तानका साथै उपाध्यक्ष बालकुमार मल्ल ठकुरी, वडा नम्वर २ का अध्यक्ष राजेन्द्र घिसिङ लगायत अस्पताल पुगेका थिए ।