नेपालमा समस्या देखिएको विमान दुबईमा सफल अवतरण
![](https://www.tukhabar.com/wp-content/uploads/2023/04/flydubai-airline-e1682394941657.webp)
काठमाडौं । काठमाडौं विमानस्थलबाट टेकअफ गर्ने बित्तिकै समस्या देखिएको विमान दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षित रूपमा अवतरण भएको छ । फ्लाई दुबईको ५७६ एफजेड उडान नम्बरको जहाज स्थानीय समयअनुसार मंगलबार बिहान १२:११ बजे सफल अवतरण भएको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्ने बित्तिकै ठुलो आवाजसहित जहाजमा आगोको झिल्का देखिए पनि पाइलटले उडानलाई निरन्तरता दिएका थिए । काठमाडौंमै आकस्मिक उडानको तयारी गरिए पनि इन्जिनको समस्या समाधान भएको भन्दै पाइलटले उडानलाई निरन्तरता दिएका हुन् ।
विमानले धादिङको धर्केमाथिको आकाशमा केही बेर फन्को लगाएर गन्तव्यतर्फ प्रस्थान गरेको थियो । फ्लाई दुबईले भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको आफ्नो विमानमा चरा ठोक्किएर सो समस्या आएको दाबी गरेको छ ।
आज बिहान नियमित धावनमार्गमा मरेको चरा भेटिएकोले फ्लाई दुबईको दाबी सत्य निकट रहेको अनुमान गरिएको छ ।