होटलमा एक जना मृत भेटिए
धनगढी । कैलालीको अत्तरियास्थित एक होटलमा बास बसेका एक जना मृत अवस्थामा भेटिएका छन् ।
मृत अवस्थामा फेला पर्नेमा दार्चुलाको ब्याँस गाउँपालिका–३ का अन्दाजी ४५ वर्षीय मोहन सिंह रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, उनी गोदावरी नगरपालिका–१ अत्तरिया बसपार्कमा रहेको न्यू सत्कार होटलमा बैशाख १० गते कोठा लिएर बसेका थिए । होटलको १०३ नम्वर कोठामा बसेका सिंह मृत अवस्थामा भेटिएका हुन् ।
उनी शौचालयमा झुण्डिएको अवस्थामा भेटिएका थिए । मृतकको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ । उक्त घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।