बारा २ बाट जसपाका उपेन्द्र यादव विजयी
![](https://www.tukhabar.com/wp-content/uploads/2020/04/tukhabar-icon.png)
![](https://www.tukhabar.com/wp-content/uploads/2018/03/Upendra-Yadav_Tukhabar.jpg)
जनकपुरधाम । प्रतिनिधि सभा उप–निर्वाचन अन्तरगत बारा क्षेत्र नम्बर २ बाट जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव विजयी भएका छन् ।
पाँच दलीय गठबन्धनका साझा उम्मेदवार यादव ५ हजार ८१ मत अन्तरले विजयी भएका हुन् । यादवले २८ हजार ४१५ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी जनमत पार्टीका शिवचन्द्र प्रसाद कुशवाहा २३ हजार ३३४ मत प्राप्त गरे ।
यस्तै, नेकपा एमालेका उम्मेदवार पुरुषोत्तम पौडेल १० हजार २१६ मत, रास्वपाका उम्मेदवार रमेश खरेलले २ हजार ८२९ र आमजनता पार्टीका उम्मेदवार अरुण ज्ञवालीले २ हजार ७३८ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
गत मंसिर ४ को निर्वाचनमा जनमत पार्टीका अध्यक्ष डा. सिके राउतसँग दोब्बर बढी मतले पराजित जसपा अध्यक्ष यादव अन्ततः उप–निर्वाचनबाट सांसद बन्न सफल भए ।
बारा २ बाट निर्वाचित रामसहाय प्रसाद यादव उपराष्ट्रपति बनेपछि खाली भएको यो क्षेत्रमा बैशाख १० गते उपनिर्वाचन भएको थियो ।
बैशाख १० मा अन्य दुई क्षेत्रमा पनि उप–निर्वाचन भएको थियो । ती दुबै क्षेत्रमा रास्वपाका उम्मेदवार विजयी भइसकेका छन् । चितवन क्षेत्र नम्बर २ बाट रास्वपा सभापति रवि लामिछाने र तनहुँ क्षेत्र नम्बर १ बाट रास्वपाका डा. स्वर्णिम वाग्ले विजयी भएका हुन् ।