कुमारी मोक्तानको निर्वाचन खर्च साढे ८ लाख रुपैयाँ
![](https://www.tukhabar.com/wp-content/uploads/2021/09/kumari-moktan.jpg)
मकवानपुर । मकवानपुर निर्वाचन क्षेत्र नम्वरको २ को (क) बाट निर्वाचित बागमती प्रदेशकी सामाजिक विकास मन्त्री कुमारी मोक्तानले आफ्नो निर्वाचन खर्च विवरण सार्वजनिक गरेकी छन् ।
गत मंसिर ४ गते सम्पन्न प्रदेश सभा निर्वाचनमा उनले ८ लाख ४९ हजार ४ सय ९९ रुपैयाँ खर्च गरेको विवरण सार्वजनिक गरेकी हुन् ।
नेकपा माओवादी केन्द्रबाट विजयी मोक्तानले निर्वाचन आयोगमा बुझाएको विवरणमा चुनाव चिन्ह झण्डा निर्माण र प्रचार प्रसारमा २ लाख ५३ हजार, गाडी भाडामा एक लाख ४३ हजार, कुर्सी टेवुल, साउण्ड सिस्टममा एक लाख २७ हजार, खाजा खानामा ९८ हजार ७ सय रुपैयाँ खर्च भएको छ ।
यसैगरी, नमुना मतपत्र छपाई पर्चामा एक लाख ८० हजार, उम्मेदवार पर्चामा २० हजार, मतदाता नामावली र स्वस्तीक चिन्हमा १६ हजार, हाते पर्चामा २० हजार रुपैयाँ खर्च भएको आयोगमा बझुाएको खर्च विवरणमा उल्लेख गरिएको छ ।
त्यस्तै मकवानपुर प्रदेश सभा २ (१) का स्वतन्त्र उम्मेदवार प्रमोद गोपालीले पनि खर्च विवरण सार्वजनिक गरेका छन् । उनले निर्वाचनमा ३६ हजार ३ सय रुपैयाँ खर्च गरेको निर्वाचन आयोगमा बुझाएको विवरणमा उल्लेख छ ।
यस्तै, मकवानपुर प्रदेश सभा २ (१) का अर्का स्वतन्त्र उम्मेदवार पदम बहादुर लामाले भने निर्वाचनमा आफुले खर्च नगरेको विवरण सार्वजनिक गरेका छन् । उनले आयोगमा बझुाएको विवरणमा आफूले निर्वाचनमा खर्च नगरेको भन्दै शून्य खर्च विवरण बुझाएका हुन् ।