हेटौंडामा लेखक दिवस मनाइयो

तु खबर संवाददाता
२०८० बैशाख १७,आईतवार ०८:५७

मकवानपुर । नेपाली लेखक संघ मकवानपुरको आयोजना तथा हेटौंडा उपमहानगरपालिकाको सहयोगमा शनिबार हेटौंडामा राष्ट्रिय लेखक दिवस २०८० मनाएको छ ।

लेखक दिवसको सान्दर्भिकतामाथि बहस तथा रचना वाचन गर्दै प्रथम राष्ट्रिय लेखक दिवस मनाइएको हो । कार्यक्रम नेपाली लेखक संघ मकवानपुरका अध्यक्ष छवि अनित्यको सभाध्यक्ष तथा केन्द्रीय सदस्य ह्याग्रीव आचार्यको प्रमुख आतिथ्यमा भएको हो ।

राम अविकासले सहजीकरण गरेको कार्यक्रममा घनश्याम घिमिरे र कृष्णप्रसाद दाहालले उक्त विषयमा बहसकर्ताको भूमिका निर्वाह गरेका थिए ।

लेखकहरुको इतिहास, परिचय, योगदान र समाजमा पारेका सकारात्मक परिवर्तनबारे बहस गरिएको थियोे । संस्थाको स्थापना दिवसका दिन तथा लेख लेखिएकै भरमा लेखकलाई पक्राउ गरेको दिनलाई राष्ट्रिय लेखक दिवस मनाउनुपर्छ भन्ने विषय बहसका क्रममा उठेका थिए ।

कार्यक्रममा सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिल, झरना साहित्यिक परिवार मकवानपुरका निवर्तमान अध्यक्ष दीपक गौतम र हेटौंडा–४ का वडाध्यक्ष नवीन सिग्देलले पनि सो विषयमा आफ्नो भनाईहरु राखेका थिए ।