कांग्रेसका ३ नेता सरकारमा सहभागी

तु खबर संवाददाता
२०८० बैशाख २०,बुधबार १७:३९

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले नेपाली कांग्रेसका ३ जना नेतालाई मन्त्रिपरिषदमा सहभागी गराएका छन् ।

कांग्रेस उपसभापति धनराज गुरुङ कानुन न्याय तथा संसदीय मामिला, मोहनबहादुर बस्नेत स्वास्थ्य तथा जनसंख्या र डिगबहादुर लिम्बु युवा तथा खेलकुदमन्त्री बनेका छन् ।

प्रधानमन्त्रीको सिफारिसमा उनीहरुलाई बुधबार नै राष्ट्रपतिले मन्त्री नियुक्त गरेका राष्ट्रपति कार्यालयले जनाएको छ ।

राष्ट्रपति कार्यालयका अनुसार, नवनियुक्त मन्त्रीहरुको बिहीबार दिउँसो ३ बजे पद तथा गोपनीयताको शपथ ग्रहण गर्नेछन् ।

३ जना मन्त्री नियुक्तिसँगै मन्त्रिपरिषद २२ सदस्यीय भएको छ । तर, अझै मन्त्रिपरिषदले पूर्णता पाएको छैन । अझै वन तथा वातावरण र खानेपानी मन्त्रालय खाली छ ।