अझै भेटिएनन् हिमपहिरोमा बेपत्ता दुई जना, खोजिकार्य जारी

तु खबर संवाददाता
२०८० बैशाख २३,शनिबार १६:५७
file-photo

धनगढी । दार्चुलामा पाँच दिनअघि हिमपहिरोमा बेपत्ता भएका दुई जना अझै भेटिएका छैनन् । मंगलबार ब्यास गाउँपालिका–१ भोलुङमा हिमपहिरोमा बेपत्ता भएका ५ जनामध्ये ३ जनाको शव फेला परेपनि दुई जना अझै बेपत्ता भएका हुन् ।

दार्चुला प्रहरीका अनुसार, बुधबार फेला परेका तीन जनाको शव ब्यास गाउँपालिका–१ छाङरुबाट बिहीबार भारतीय बाटो हुँदै शुक्रबार सदरमुकाम खलङ्गा ल्याइएको थियो ।

दार्चुलाको दुहुँ गाउँपालिका–४ की ३८ वर्षीया कमला कुँवर, उनका १८ वर्षीय छोरा प्रवीण कुँवर र डोटीको जोरायल गाउँपालिका–२ बुडरकी ४५ वर्षीया नक्नी डोमा थापाको शव आफन्तले बुझिसकेका छन् ।

बेपत्ता भएका दुई जनाको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । बेपत्ता हुनेमा डोटीको जोरायल गाउँपालिका–२ बुडरकी २८ वर्षीया ईश्वरी थापा र १५ वर्षीया क्षिमी सोमो थापा रहेका छन् । उनीहरुको खोजी कार्य भइरहेको जनाइएको छ ।