हेटौंडामा सडक विस्तार मापदण्ड अनुसार नै हुनुपर्छ : डा.भट्टराई
मकवानपुर । नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले हेटौंडामा २५ मिटर सडक विस्तार मापदण्ड अनुरुप नै हुनुपर्ने बताएका छन् । उनले आइतबार हेटौंडामा पत्रकारहरुसँग कुराकानी गर्दै सो कुरा बताएका हुन् ।
उनले बागमती प्रदेशको राजधानीसमेत रहेको हेटौंडामा सडक विस्तार अनिवार्य भएको बताए । डा. भट्टराईले उक्त सडक विस्तारका लागि कसैले पनि कुनै बाधाअवरोध नगरी सरकारलाई सहयोग गर्नुपर्नेमा जोड दिए ।
पूर्व–पश्चिम राजमार्ग अन्तरगत हेटौंडा बजार क्षेत्रमा पर्ने खण्डको दायाँबायाँ २५/२५ मिटर विस्तार कार्य वर्षौँअघि सुरु भएपनि त्यसले हालसम्म पूर्णता पाउन सकेको छैन । सडक विस्तारको विषयलाई लिएर हेटौंडामा अहिले थुप्रै बहस भइरहेको छ ।
साथै डा. भट्टराईले अन्य राजनीतिक समसामायिक विषयमा पनि आफ्ना धारणा व्यक्त गरेका थिए ।