स्थानीय तहका पदाधिकारी र कर्मचारीलाई विदेश भ्रमणमा कडाइ
काठमाडौं । सरकारले स्थानीय तहका पदाधिकारी तथा कर्मचारीलाई विदेश भ्रमणमा कडाइ गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एक परिपत्र जारी गर्दै स्थानीय तहका पदाधिकारी एवम् कर्मचारीलाई विदेश भ्रमणमा कडाइ गरेको हो ।
मन्त्रालयले स्थानीय तहका पदाधिकारी एवम् कर्मचारीलाई कार्यक्रम स्वीकृत नगराई जथाभावी विदेश भ्रमणमा नजान आग्रह गरेको हो । यसअघि भएका यस्ता वैदेशिक भ्रमणका कतिपय कार्यक्रमको औचित्य नदेखिएको भन्दै मन्त्रालयको उक्त परिपत्रमा आवश्यकताका आधारमा मात्र वैदेशिक भ्रमणमा जान निर्देशन दिइएको छ ।
अत्यावश्यक र औचित्यपूर्ण अवस्थाबाहेक वैदेशिक भ्रमण स्वीकृतिका लागि नपठाउन पनि मन्त्रालयले जिल्ला समन्वय अधिकारी र पालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई निर्देशन दिएको छ ।
विदेश भ्रमणबारे निर्णय गर्नुअघि देशको वर्तमान आर्थिक संवेदनशीलता, चालू आर्थिक वर्षको अन्तिम र नयाँ आर्थिक वर्षको बजेट निर्माणको महत्त्वपूर्ण समयलाई मनन गर्न मन्त्रालयले जारी गरेको उक्त परिपत्रमा उल्लेख गरिएको छ ।
साथै मन्त्रालयले आधिकारिकता पुष्टि हुन नसक्ने तथा गलत कागजात तयार गरी विदेश भ्रमणमा गए या पठाइएको पाएमा कारबाही गर्ने चेतावनी समेत दिएको छ ।