उपप्रधानमन्त्री श्रेष्ठ र चिनियाँ राजदूत सङबीच भेटवार्ता

तु खबर संवाददाता
२०८० बैशाख २५,सोमबार १६:३८

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र चिनियाँ राजदूत चेन सङबीच भेटवार्ता भएको छ । उनीहरुबीच सोमबार गृह मन्त्रालयमा भेटवार्ता भएको हो ।

भेटका क्रममा उपप्रधानमन्त्री श्रेष्ठले चिन–नेपालबीच ऐतिहासिक सम्बन्ध रहेको र चीनसँग नेपालको कुनै विवाद नरहेको बताए । चीनको तिब्बत स्वायत्त क्षेत्रले नेपाल प्रहरीलाई सहयोग गरेको २१ वटा ड्रोनहरूको श्रेष्ठले धन्यवाद दिए । उक्त ड्रोनहरू छिटै नेपाललाई हस्तान्तरण गर्ने व्यवस्था मिलाउने उनको भनाइ छ ।

दुई देशको सीमा जोडिएका जिल्लाहरूमा समकक्षी बैठक निरन्तर हुनुपर्ने र सीमामा कार्यरत दुई देशका पदाधिकारीहरूको सम्पर्क र समन्वय सघन बनाउनुपर्ने उपप्रधानमन्त्री श्रेष्ठको भनाइ छ ।

तातोपानी, रसुवा तथा हिल्सा नाका पुनः खुलेर पूर्णरूपमा संचालनमा आएकोमा खुसी व्यक्त गर्दै उपप्रधानमन्त्री श्रेष्ठले थप नाकाहरू पनि चाँडै संचालनमा ल्याउन पहल गरिदिन राजदूत सङलाई आग्रह गरे ।

यस्तै, जवाफमा चिनियाँ राजदूत सङले आफूले त्यसको पहल गर्ने विश्वास दिलाए । सीमा क्षेत्रका पदाधिकारीहरूको सम्पर्क सघन बनाउने र समकक्षी बैठक गरिरहनुपर्ने उपप्रधानमन्त्री श्रेष्ठको रायमा आफू पनि सहमत रहेको उनको भनाइै छ ।

राजदूत सङले नेपालले सँधै एक चीन नीतिको समर्थन गर्दै आएकोमा धन्यवाद दिए । सन् २०१९ मा चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण र त्यसपछि भएका उच्चस्तरीय भ्रमणहरूले नेपाल(चीन सम्बन्ध थप उचाइमा पुगेको उनको भनाई छ ।

उनीहरुबीच निश्चित विषय र मुद्दामा थप छलफल र सल्लाह गर्न आवश्यकताअनुसार अन्य समयमा पनि भेटवार्ता गरिरहने सहमति भएको थियो ।