मधेस प्रदेश सभाको बैठक जेठ २ गते बस्ने
जनकपुरधाम । मधेस प्रदेश सभा बैठक आगामी जेठ २ गते बस्ने भएको छ । बैठक जेठ २ गतेका लागि आह्वान गरिएको प्रदेश सभाका सचिव रञ्जितकुमार यादवले जानकारी दिए ।
सचिव यादवका अनुसार, उक्त बैठकमा चार वटा विधेयक पेस गर्ने सरकारको तयारी रहेको छ । भौतिक पूर्वाधार मन्त्रालयले बनाएको यातायातसम्बन्धी विधेयक प्रदेशसभामा पेस हुनेछ । अघिल्लो सरकारका भौतिक पूर्वाधार मन्त्री रामसरोज यादवको पालामा उक्त विधेयक तयार पारिएको थियो ।
त्यस्तै, बालबालिका संरक्षण र प्रदेश प्रशासनसम्बन्धी विधेयक पनि पेस हुने सम्भावित कार्यसूचीमा रहेको सचिव यादवले बताए । त्यस्तै बैठकमा समसमायिक विषय पनि समावेश गरिने तयारी रहेको छ भने बजेट अधिवेशनमा प्रि बजेट छलफल र नीति तथा कार्यक्रमबारे सांसदहरूले धारणा राख्ने कार्यसूची रहेको छ ।
मधेस प्रदेशमा पछिल्लो प्रदेशसभा बैठक फागुन ४ गते बसेको थियो ।