शिवमको खानीले जोखिम निम्त्याउँदै, संसदमा उठ्यो सामरी खोलाको मुद्धा

तु खबर संवाददाता
२०८० बैशाख २८,बिहीबार ०८:२८

मकवानपुर । हेटौंडाको हटियामा रहेको शिवम सिमेन्ट उद्योगले अव्यवस्थित रुपमा खानी सञ्चालन गरी चुनढुङ्गा उत्खनन् गर्दा सामरी खोलामा बाढी आउने जोखिम बढेको भन्दै स्थानीयवासी चिन्तामा परेका छन् ।

मकवानपुरगढी गाउँपालिकाको धादिङ, भालुखोला, कुर्ले, बुङ्दल, कालिखोलालगायत क्षेत्रका बासिन्दा चिन्तामा परेका हुन् ।

उद्योगले गढी गाउँपालिका र बकैया गाउँपालिकामा पर्ने लटरम्मेश्वर पहाडलाई खनेर चुन ढुङ्गा उत्खनन गरिरहेको छ । गढीगाउँपालिकाको सुकौरा भन्दा माथिको पहाडमा कम्पनीले अत्याधिक मात्रामा दोहन गर्दै आएको छ ।

सामरी खोलाको माथिल्लो भागमा रहेको पहाडमा अत्याधिक दोहन गरेका कारण सामरी खोलामा बाढी आउन सक्ने जोखिम देखिएको गढी ५ का स्थानीय दिबबहादुर योञ्जनले गुनासो गरे ।

बाढीले घरखेत बगाउने खतरा भएपछि स्थानीयबासी वर्षायाम आउनुअघि नै आतंकित बन्न पुगेका हुन् ।

‘लटरम्मेश्वर क्षेत्रमा जताततै खनिएको छ । चुनढुंगा निकालिसकेपछि माटो खोलामा त्यसै छाडिएको छ । वर्षायाम सुरु हुन लाग्यो । सामरीमा बाढी आउने पक्का छ । बाढीले घरखेत नै बगाउला कि भन्ने हामीलाई चिन्ता बढ्यो ।’ बुङ्दलका सोमलाल न्यासुरले भने
खोलामा त्यसै माटो थुपारिएको छ । पानी पर्न सुरु भएसँगै खोलाले माटो बगाएर ल्याउँछ । पानीसँगै माटो मिसिएर बाढी आउँदा खोलाको सतह बढ्छ र किनाराको बस्तीमा बाढी पस्छ, उनले थपे ।

यो विषयमा स्थानीयवासीले लामो समयदेखि गुनासो गरेपछि प्रतिनिधि सभाको बैठकमा सांसद महेश बर्तौलाले आवाज उठाए । उनले सामरी खोलामा आउने बाढी नियन्त्रण गर्न जोडदार माग गरे । तर, बाढी आउने जोखिम पछाडीको कारणबारे भने संसदमा बोल्ने आँट गरेनन् ।

सामरीमा प्रत्येक वर्ष बाढीका कारण ठूलो जनधनको क्षति हुने गरेको छ । खानीका कारण नदिले उत्पात मच्चाउँदै आएको भएपनि सांसद बर्तौलाले शिवम सिमेन्टको अत्याधिक उत्खनन् र दोहन रोक्ने विषयमा आवाज भने उठाउन सकेनन् ।