रमाना नलिने कर्मचारीलाई कारबाही गरिने
काठमाडौं । सरुवा तथा पदस्थापन भएर पनि रमाना नलिने कर्मचारीलाई सरकारले विभागीय कारबाही गर्ने भएको छ । संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले सबै मन्त्रालय, आयोग, सचिवालय, कार्यालय, प्रदेश कार्यालय र स्थानीय तहलाई परिपत्र गर्दै यस्तो चेतावनी दिएको हो ।
सरुवा, पदस्थापन, कामकाज तथा काजमा खटाइएका र काज फिर्ता गरिएका कर्मचारीहरू वर्षौँसम्म आफूखुसी बस्न थालेपछि मन्त्रालयले विभागीय कारबाहीको तयारी थालेको हो ।
रमाना भई नजाने कर्मचारीहरूलाई उपलब्ध गराएको सेवा, सुविधा र पारिश्रमिक सम्बन्धित कार्यालय प्रमुख र आर्थिक प्रशासन प्रमुखबाटै असुलिने चेतावनी समेत मन्त्रालयले दिएको छ ।
सात दिनभित्र रमाना लिई नगए निजामती सेवा नियमावली, २०५० को नियम ६८ बमोजिम विभागीय सजाय गरिने विभागीय मन्त्री अमनलाल मोदीले जानकारी दिए ।
हालसम्म सरुवा, पदस्थापन, कामकाज, काजमा खटाइएका र काज फिर्ता गरिएका कर्मचारीहरूलाई निजामती सेवा नियमावली, २०५० को नियम ४० बमोजिम रमाना दिएर सात दिन भित्र उक्त जानकारी मन्त्रालयमा गराउन भनिएको छ ।