जापानमा भएको बस दुर्घटनामा परेर २ नेपाली विद्यार्थीको मृत्यु
काठमाडौं । जापानमा भएको बस दुर्घटनामा परेर दुई नेपाली विद्यार्थीको मृत्यु भएको छ । जापानको सेन्दाईस्थित सहरमा बस दुर्घटना हुँदा दुई जना नेपाली विद्यार्थीको मृत्यु भएको हो ।
दुर्घटनामा परेर मृत्यु हुनेहरुमा काभ्रेपलान्चोकको भुम्लु निवासी नवराज तामाङ र ओखलढंगाको चिरांखुगढी गाउँपालिका स्थायी घर भएका युवराज थापा रहेको जापानी सञ्चारमाध्यमले जनाएको छ । थापा सेन्मोन गाक्कोउ तथा तामाङ निहोनगो गाक्कोउमा अध्ययनरत थिए ।
जापानी संचारमाध्यमका अनुसार, सेन्दाईबाट इवातेका लागि हिँडेको बसलाई पछाडिबाट ट्रकले ठक्कर दिँदा सो दुर्घटना हुन पुगेको थियो । जसमा दुई नेपालीसहित तीन जनाको मृत्यु भएको थियो । बसमा खराबी देखिए पछि मियागी प्रान्तको तोहोकु एक्सप्रेस वेमा जाँचका लागि रोकिराखेको अवस्थामा ट्रकले आएर ठक्कर दिएको हो ।
एक्सप्रेस रोडमा रोकिराखेको बसलाई ट्रकको ठक्करपछि सो बस उछिट्टिएर १ सय मिटर पर पुगेको थियो । उक्त बसमा चालक दलका सदस्यसहित ४० जना सवार थिए ।