पुडासैनी मैत्री समाजद्वारा जिल्ला शाखासँग सुझाव संकलन सुरु
मकवानपुर । पुडासैनी मैत्री समाज केन्द्रीय समितिले विहिबार मकवानपुर शाखासँग सुझाव संकलन गरेको छ ।
समाजको चौथो महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय समिति समाजको आगामी रणनीति तय गर्न जिल्ला शाखाहरुसँग सुझाव संकलन गर्ने क्रममा विहिबार हेटौंडा आइपुगेको हो ।
छलफलका क्रममा मकवानपुर अध्यक्ष बालकृष्ण पुडासैनीले समाजका गतिविधि बन्धुहरुको हितको सन्दर्भमा हुनुपर्ने बताए । उनले केन्द्रीय समितिलाई पूर्णता दिँदै, विभिन्न विधागत आर्थिक कोष स्थापना गरी समस्यामा परेका बन्धुहरुलाई सहयोग गर्न केन्द्रीय समितिलाई सुझाव दिए ।
सो अवसरमा केन्द्रीय अध्यक्ष निरन्जन पुडासैनीले बन्धुहरुबीच भातृत्व कायम गर्दै, सबै शाखाहरुको सुझावलाई आत्मसाथ गर्दै अघि बढ्ने प्रतिवद्धता जनाए ।
महासचिव जयराम पुडासैनीले मकवानपुर शाखाबाट सुझाव संकलन सुरु भएको बताए । उनले पहिलो चरणमा चितवन, गोरखा र नुवकोट शाखासँग सुझाव संकलन गरिने जानकारी दिए ।
छलफलमा केन्द्रीय सचिव रामचन्द्र पुडासैनी, केन्द्रीय सदस्य द्वय कुमार पुडासैनी र रमेश पुडासैनी, मकवानपुर सचिव बलराम पुडासैनी, सदस्य विनोद पुडासैनीलगायतको सहभागिता रहेको थियो ।