‘हेटौंडाले मलाई जन्मायो, मैले हेटौंडालाई होइन’

तु खबर संवाददाता
२०८० जेष्ठ १२,शुक्रबार ०९:५६
file-photo

हेटौँडामा जन्मिएका सुलेमान शंकर (इकु) चर्चित हास्य कलाकार हुन् । उनी सानैदेखि कमेडी डान्स गर्थे । स्कुल कलेजहरुमा साथीहरुको अगाडी कमेडी गर्थे । कमेडी गर्दा उनका साथीहरुले तँ हास्य कलाकार बन्छस् भन्थे । उतिबेला साथीहरुले दिएको हौसला इकुका लागि प्रेरणाको स्रोत बन्यो ।

कलाकारिता क्षेत्रमा उनको निकै रुची थियो । संघर्षकै क्रममा उनले तितो सत्य टेलि चलचित्रमा काम गर्ने मौका पाए । उनको एउटा सानो भूमिका थियो, जहाँ उनले पछाडी बसेर तालि बजाउनु पथ्र्यो । तितो सत्यमा लामो अवधिसम्म काम गरिसकेपछि, मेरी बास्सैमा जंगली मान्छेको भूमिकामा उनले अभिनय गर्न थाले ।

इकुले सिताराम कटेल (धुर्मुस) र केदार घिमिरे (माग्ने बुढा) सँगै संघर्ष गरेका हुन् । माग्ने बुढा पनि हेटौँडाकै भएकाले संघर्षको यात्रामा इकु माग्ने बुढासँगै रहे ।

सामान्य परिवारमा जन्मे हुर्केका इकुले आर्थिक समस्यालाई नजिकबाट नियालेका छन् । तर हिम्मत हारेनन् । कलाकारिता क्षेत्रबाटै केही गर्छु भन्ने उनको अठोटले अहिले सार्थकता पाएको छ । पेट भर्नकै लागि विदेशीन लागेका इकुले अहिले सयौँ अनाथ बालबालिकाहरुलाई आश्रय दिइरहेका छन् ।

इकुले दर्जनौँ फिल्ममा अभिनय गरेका छन् । इकु १ , इकु २ र फिर्के चलचित्र निर्माण गरिसकेका छन् । उनले लोक गीतहरु पनि तयार पारेका छन् । उनै इकुसँग तु खबरले गरेको कुराकानीको सम्पादित अंश ।

मकवानपुरमा जन्मिएर कलाकारिता क्षेत्रमार्फत् अहिले राष्ट्रियस्तरमा नै ख्याती कमाउन सफल हुनुभएको छ । यहाँसम्म आइपुग्दा विशेषगरी तपाईको अनुभव कस्तो रह्यो ?

धन्यवाद । म मकवानपुरमा जन्मिएको, मेरो जन्मभूमिलाई पलपलमा सम्झन्छु । म साँझ, विहान राति सुत्दा किन नहोस् । किनभने, मकवानपुरले नै मलाई यो पहिचान दिएको हो । म त राति सुत्दा पनि राप्ति खोलामा माछा मारेको, खेलेको, घुमेको, साथीहरुसँग रमाईलो गरेको देखिरहन्छु । अहिले म यो ठाउँमा छु र विश्वमा पनि घुमिरहेको हुन्छु । हेटौंडामा मात्र होइन, विश्वमा पनि धेरै चिज रैछ भनेर चिनिरहेको छु । हेटौंडाले मलाई जन्माएको हो, मैले हेटौंडालाई जन्माएको होइन । त्यसकारण पनि म हेटौंडालाई धेरै माया गर्छु । हेटौंडाका साथीभाईहरुले पनि मलाई निकै माया गर्नुहुन्छ ।

अनुभवको कुरा गर्नुपर्दा, म सामान्य परिवारको मान्छे हुँ । त्यसैले निकै संघर्ष गर्नुपर्यो । तर, पनि सन्तुष्ट छु । तीता, मिठा, रमाइला सबैखाले अनुभव संगाल्ने मौका मिल्यो ।

कलाकारिता क्षेत्रमा अघि बढ्न तपाईलाई प्रेरणा दिने व्यक्तिहरुलाई सम्झनुपर्दा क–कसलाई सम्झनुहुन्छ ?

हामी बाल्यकालका साथीहरु कपिल खड्का, जो अहिले पत्रकार हुनुहुन्छ । हेटौंडा–१ का वडाध्यक्ष संविन न्यौपाने, बैकुण्ठ पराजुली, प्रेम भोलन उहाँहरु एकदमै मिल्ने साथीहरु हो । अरु धेरै साथीहरु हुनुहुन्छ, जसले मलाई कमेडि गर भनेर हौसला दिनुहुन्थ्यो । ध्यानपूर्वक सुन्नुहुन्थ्यो । मेरो परिवार, कलाकारिता क्षेत्रका सबै आदरणीय व्यक्तित्वहरु, मैले नाम लिँदा कोही छुट्ने कोही समेटिने हुनसक्छ । हजारौँ, लाखौँ को होला र मलाई प्रेरणा नदिने व्यक्ति । तपाई सबै दर्शक मेरो प्रेरणा हो । सबैलाई सम्झन चाहान्छु ।

म अन्य क्षेत्रमा नै काम गरिरहेको अवस्थामा धेरै जना मेरा साथीभाई आफ्ना–आफ्न्तहरुले रमाइलो खालको मेरो बानीव्यहोरा र जोक्स भन्ने जस्ता मेरा क्रियाकलाप देखेर तँ चाँही कला क्षेत्रमा लाग्नुपर्छ भनेर प्रेरणा दिनुहुन्थ्यो । त्यसपछि मैले डान्स क्लास लिए । डान्स क्लास लिँदै गर्दा थोरै भए पुगिसरीमा कालाकार चाहियो भनेर विज्ञापन देखेर मेरो बहिनीले मलाई नम्वर दिइन् । त्यहीबाट अवसरबाट मैले कलाकारिता क्षेत्रलाई अगाडि बढाउन सकेँ । २००१ सालदेखि आजसम्म आइपुग्दा जतिपनि मलाई माया, साथ र हौसला दिने व्यक्तिहरु हुनुहुन्छ, उहाँहरुलाई हृदयदेखिनै सम्झन चाहान्छु ।

तपाईको अनुभवमा कलाकारिता क्षेत्रका चुनौती र अवसर के–के हुन् ?

चुनौतिको कुरा गर्नुपर्दा कलाकारिता क्षेत्रमा धेरै नै गाह्रो छ । झन म त सामान्य परिवारमा जन्मिएको मान्छे । त्यो समयमा हामीलाई कसैले पनि सहयोग गर्दैनथे । कसैले त देख्ने बित्तिकै यो माथि जान्छ भनेर खुट्टा तान्ने गर्थे । अर्को कुरा हामीलाई राम्रो रोलहरु पनि नदिने । तर, म चाँही भगवान लाई नै धेरैधेरै धन्यवाद भन्न चाहान्छु, किनभने मलाई यो रुप दिनुभयो । हेर्दाखेरी नै रमाइलो, कलाकार नै बन्ने खालको रुप दिनुभएको छ । आज म माग्ने बुढा, धुमुर्सलगायत मेरी बास्सै टिमलाई सम्झन चाहान्छु र परिकल्पना गर्ने राजु मास्टरलाई पनि सम्झन चाहान्छु । जुन टाइटल उहाँले दिनुभयो, त्यही टाइटल लिएर देशविदेश हिड्ने मौका पाएको छु । मैले अहिले सोही टाइटलले समाजसेवी कामहरु पनि गरिरहेको छु । मैले सोही टाइटल अहिले २०७२ सालको भुकम्पमा परेर आमा–बाबु गुमाएका १६ जना नानीबाबुलाई आश्रय दिन सक्ने भएको छु । उनीहरुको रेखदेख, शिक्षा, दिक्षा दिँदै भविष्य निमार्ण गर्न लागिपरेको छु । सबैले सहयोग गरिरहनुभएको छ ।

कलाकारिता क्षेत्रमा लामो समय विताउनुभयो, अरुलाई त अभिनयमार्फत् हसाउनु हुन्छ नै तपाई आफैँ चाँही हास्ने अवस्था छ कि छैन, सन्तुष्ट हुनुहुन्छ ?

अरुलाई हसाउन पहिला आफु हास्नुपर्छ । त्यसकारण म नहास्ने कुरै भएन । तपाईले भनेजस्तै कलाकारिता क्षेत्रमा समस्या धेरै छन् । तर, संघर्षलाई नजिकबाट नियालेर आएकोले म समग्रमा सन्तुष्ट नै छु । अझै माया गरिदिनुहोला । अझै राम्रो गर्ने कोषिस गर्नेछु । अहिले सम्मद दर्शकबाट पाएको माया, विभिन्न क्षेत्रबाट पाइने पुरस्कार, सम्मानले पलपलमा प्रेरणा दिइरहन्छ ।

कलाकारिता क्षेत्रमा आउन चाहेका नयाँ पुस्तालाई तपाईको सन्देश के छ ?

हाम्रो जस्तो जवाना होइन अहिले । अहिले हेर्ने जवाना छ र ट्यालेन्टको जवाना छ । जो ट्यालेन्ट छ, उ अगाडि बढ्न चाहान्छ भने त्यो आफ्नै घरबाट कलाकार भएर निस्कने अवस्था भइसक्यो। अहिले सिरियल, मुभी भन्दा पनि धेरै प्रकारका प्लेटफमहरु आइसकेको छ । अहिले टिकटकले पनि त्यसलाई धेरै नै सहयोग गरेको छ । यही क्षेत्रमा काम गर्छु भनेर लगनशील भएर ट्रेनिङ लिएर आउनुभयो भने कोही पनि ब्याक हुनुपर्दैन ।

राज्यले कलाकारिता क्षेत्रको प्रवद्र्धनको लागि के गर्दिए हुन्थ्यो जस्तो लाग्छ ?

राज्यबाट त धेरै गर्नुपर्ने कुरा छ । कलाकारिता क्षेत्रको लागि राज्यले जति गर्नुपर्ने हो, त्यति गरेको देखिँदैन । कलाकारिताबाटै बाँच्ने वातावरण अझै पनि निर्माण भएको छैन । कति जनाको त घरमा खानलाई पनि समस्या छ । त्यसले गर्दा राज्यले कलाकारलाई बाँच्ने आधार बनाइदिए हुुन्थ्यो भन्ने लाग्छ ।

मन्त्रीलाई चाँही रेड पासवर्ड हुने कलाकारलाई छैन । धेरै ठाउँमा हेर्दाखेरी मन्त्रीलाई भन्दा बढी कलाकारलाई चिन्नुहुन्छ हामी लोकप्रिय छौँ । राज्यका विविध पक्षमाथि हास्य व्यङ्ग्य गर्छौँ । समाजमा चेतना बाँड्छौँ । केही नपाउँदा पनि लागिरहेका छौँ । कलाकार मर्दा कात्रो किन्ने धरी पैसा नभएको अवस्था हामीले देखेका छौँ । राज्यले कलाकारलाई देशमै वा विदेशमा गएर कला देखाएर खान सक्ने एउटा आधार बनाइदिए सहज हुनेथियो भन्ने लाग्छ ।

कलाकारिता क्षेत्रले समेटेका विषयवस्तुमाथि सन्तुष्ट हुनुहुन्छ ?

अहिले नेपाली सिरियलमार्फत् आ–आफ्नो ठाउँबाट सबैले कलाकारज्यूहरुले सकेसम्म सबै विषयवस्तु समेट्नुभएको जस्तो लाग्छ । कति ठाउँमा राम्रो पनि भइराखेको छ । कतै गर्दैजाँदा चुकेको अवस्था पनि छ । अझै पनि राम्रो गर्दै जानुहोस् । त्यही भन्छु ।

तपाईको आगामी योजना के छ ?

मेरो आगामी योजना भनेको अहिले मैले नेपाली टेलिसिरियल हल्का रमाईलोमा काम गरिरहेको छु । एउटा नयाँ प्रोगाम पनि बनाउँदैछु र इकु ३ को पनि कन्सेप्ट बनाइरहेको छु । अहिले भन्नु नै पर्दा स्नेहा आश्रम मुलपानीमा अवस्थित छ । १६ जना बालबालिकाहरुलाई त्यहाँ आफ्नै भवन निर्माण गरेर बस्ने बासको व्यवस्थान गर्ने भन्ने तयारीमा लागेको छु । देशविदेशका विभिन्न कार्यक्रमहरुमा जाने तयारी पनि छ ।

अन्त्यमा के भन्न चाहानुहुन्छ ?

मलाई देश तथा विदेशबाट जति पनि हेरिरहनुभएको छ, उहाँहरुले मलाई धेरै माया दिइरहनुभएको छ । आगामी दिनहरुमा पनि यसैगरी साथ सपोर्ट माया गरिदिनुहोला भन्न चाहान्छु । अझै पनि राम्रा राम्रा योजनाहरु ल्याउने तयारीमा छु तु खबरलाई पनि धन्यवाद दिन चाहान्छु ।