घुस लिएको आरोपमा पक्राउ परेका वडाध्यक्ष र सचिवविरुद्ध मुद्दा दायर

तु खबर संवाददाता
२०८० जेष्ठ १२,शुक्रबार १५:४९
file-photo

जनकपुर । सेवाग्राहीसँग घुस लिएको आरोपमा पक्राउ परेका जनकपुरधाम उपमहानगरपालिका–११ का वडा अध्यक्ष अर्जुन कुमार चौधरी र वडा सचिव माधव कुमार रायविरुद्ध मुद्दा दायर भएको छ ।

सेवाग्राहीबाट ५० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा पक्राउ परेका उनीहरुविरुद्ध शुक्रबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

आयोगका प्रवक्ता भोला दाहालका अनुसार, जग्गा दर्ता कायम गर्ने सर्जमिन मुचुल्काको रोहबरमा दस्तखत गर्न सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचना एवम् उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिवासबाट खटिएको टोलीले उनीहरुलाई केही दिन अघि नियन्त्रणमा लिएको थियो ।

उनीहरुलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुरमा पक्राउ गरी आवश्यक कारबाही अघि बढाइएको आयोगले जनाएको छ ।