मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको संस्थागत सुधार र सुदृढीकरण गरिने
![](https://www.tukhabar.com/wp-content/uploads/2023/05/niti_karyakram.jpg)
मकवानपुर । बागमती प्रदेश सरकारले मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको संस्थागत सुधार र सुदृढीकरण गरिने भएको छ । आइतबार प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख यादवचन्द्र शर्माले सो कुराको जानकारी गराएको हो ।
उनले आधारभूत स्वास्थ्य सेवालाई निःशुल्क, सर्वसुलभ र गुणस्तरीय बनाउन स्थानीय तहलाई प्रोत्साहन गरिनुका साथै सामुदायिक, सहकारी, निजी तथा गैरसरकारी स्वास्थ्य संस्थाहरुको नियमनलाई प्रभावकारी तुल्याउने सरकारको लक्ष्य रहेको बताए ।
यसैगरी उनले स्वास्थ्यमैत्री बनाउन सबै नीतिमा स्वास्थ्य कार्यक्रमलाई थप विस्तार गरी समुदायी स्तरमा पुर्याइन, किशोरीहरुलाई पाठेघरको क्यानसरबाट बचाउन संघीय सरकारको समन्वयमा एचपीभी खोप लगाउने व्यवस्था मिलाउनेलगायत महिलाहरुमा हुने स्तन क्यानसरको पहिचान गर्न शैलजा आचार्य महिला क्यान्सर परीक्षण अभियान संचालन गरिने बताए ।
यस्तै, सार्वजनिक नीति तथा कार्यक्रममा प्रदेशको सबै निर्वाचन क्षेत्र स्तरमा १५ शय्या अस्पताल निर्माण तथा सुदृढीकरणको नीतिलाई कार्यान्वयनमा ल्याउने उल्लेख गरिएको छ ।