बागमती प्रदेश सभाको बैठक : नीति तथा कार्यक्रममाथि छलफल
![](https://www.tukhabar.com/wp-content/uploads/2023/05/bagamati-pradeshsabha-jeth-17.jpg)
मकवानपुर । बागमती प्रदेश सभाको आज अपराह्न बसेको बैठकमा बागमती प्रदेश सरकारको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक नीति तथा कार्यक्रममाथि छलफल भएको छ ।
बैठकमा सत्तापक्ष र प्रतिपक्ष दलका सांसदहरुले आ–आफ्नो सुझावहरु दिएका थिए । बैठकमा सरकारको नीति तथा कार्यक्रममा सर्पको टोकाईबाट घाइते भएका बिरामीहरुलाई उपचार गर्नका लागि आगामी बजेटमा प्रदेशको विभिन्न जिल्लामा सर्पदंश अस्पतालको स्थापना र दक्ष चिकित्सक उपलब्ध गराउन माग गरेका थिए ।
उनीहरुले कृषि क्षेत्रलाई उत्पादन मुलुक एवम् आत्मनिर्भर बनाउन प्रदेश सरकारले पायक पर्ने स्थानमा आगामी आर्थिक वर्षमा मलखाद्य कारखाना स्थापना गर्ने र मल र बिउँ बिजन कृषकलाई उपब्ध गराउन प्रदेश सरकारले सम्बन्धित निकायलाई स्रोतसाधन परिचालन गरी सर्तकमा राख्नु सुझाव दिए ।
प्रदेशको १३ वटै जिल्लामा सडक सञ्जालसंग जोडिने कृषि सडक, खानेपानी, स्वास्थ्य उपचारको लागि दक्ष चिकित्सक र जनशक्ति उपलब्ध गराउन सरकारले दलीय स्वार्थभन्दा माथि उठेर प्रतिपक्षहरुको आवाजलाई पनि कार्यान्वयन गर्नुपर्ने उनीहरुको भनाई छ ।
यसैगरी, उनीहरुले सरकारी विद्यालयहरुमा पहुँच नभएका बालबालिकाहरु मात्रै अध्ययन गर्ने भएको र नीजि क्षेत्रबाट संचालित विद्यालयहरुमा विद्यार्थीको चाप बढ्दो भएकोले अव सरकारले सबै प्रकारको अभिभावकका बालबालिकालाई सरकारी विद्यालयमा भर्ना गर्ने खालको नीतिगत तहमा शिक्षाको गुणस्तरलाई अगाडि बढाउनुपर्नेमा जोड दिए ।
बागमती प्रदेश सभाकी उपसभामुख अप्सरा चापागाईँले प्रदेश सभाको अर्को बैठक भोली जेष्ठ १८ गते बिहान १०ः३० बजे बस्ने जानकारी दिइन् । उक्त बैठकमा नीति तथा कार्यक्रममाथि छलफल हुने र बाँकी सदस्यहरुले सुझाव दिने उनले बताइन् ।