कैलाशमा चेली प्रोत्साहन कार्यक्रम कार्यान्वयन, ६ जना सम्मानित
मकवानपुर । मकवानपुरको कैलाश गाउँपालिकाले कम्तिमा १२ कक्षा पास गरी २० वर्ष वा सो भन्दा माथि उमेर पुगि विवाह गर्ने ६ जना चेलीलाई सम्मानसहित प्रोत्साहन स्वरुप २० हजार रुपैयाँ प्रदान गरेको छ ।
गाउँपालिकाले चेली प्रोत्साहन कार्यक्रम अन्तर्गत बुधबार ६ जना चेलीलाई सम्मानसहित उक्त रकम प्रदान गरेको हो । गाउँपालिकाले नीति तथा कार्यक्रममा समेट्दै चेली प्रोत्साहन कार्यक्रमलाई कार्यान्वयनमा ल्याइएको हो ।
सम्मानित हुनेहरुमा क्रमशः कैलाश–२ की लक्ष्मी मोक्तान, कैलाश–६ की संगीता ढुंगाना, प्रतिभा अर्याल, लक्ष्मी श्रेष्ठ, कैलाश–९ की उर्मिला थिङ र कैलाश–१० की सरुया प्रजा रहेकी छन् ।
कार्यक्रम कैलाश गाउँपालिकाका सामाजिक विकास समितिका संयोजक तथा २ नम्बर वडा अध्यक्ष राजेन्द्र घिसिङको सभाध्यक्षता एवम् गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानको प्रमुख आतिथ्यता भएको हो ।
कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष बालकुमार मल्ल र नेपाल पत्रकार महासंघको बागमती प्रदेश उपाध्यक्ष रुपेश दुलालको विशेष आतिथ्यता रहेको थियो ।