बागमती प्रदेश सभा : सरकारको नीति तथा कार्यक्रमाथि छलफल

तु खबर संवाददाता
२०८० जेष्ठ १८,बिहीबार १९:३५

मकवानपुर । बागमती प्रदेश सभाको आज बसेको दुबै बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रममाथि छलफल भएको छ ।

आज अपराह्नमा बसेको पहिलो र दोस्रो बैठकमा बागमती प्रदेश सरकारको आगामी आवको नीति तथा कार्यक्रममाथि छलफल भएको हो । उक्त बैठकमा सत्तापक्ष र प्रतिपक्ष गरी ३५ जना प्रदेश सभाका सदस्यहरुले सुझाव दिएका थिए ।

छलफलमा अधिकांश प्रदेश सभाका सदस्यहरुले प्रदेश सरकारको नीति तथा कार्यक्रममा समावेश भएका विभिन्न कार्यक्रमलाई परिमार्जन गरी आत्मनिर्भर बनाउने खालको योजनालाई उच्च प्राथमिकता दिन आग्रह गरे ।

उक्त बैठकमा नीति तथा कार्यक्रममाथि आदिवासी जनजाति, दलित, महिला सिमान्तकृत वर्गलाई आत्मनिर्भर हुने आर्थिक प्याकेजको कार्यक्रम ल्याउन र त्यसक्षेत्रमा सिचाईँको प्रबन्ध गरी कृषि उत्पादनलाई बढुवा दिन जनमुखी योजना ल्याउनुपर्ने माग गर्नुभयो ।

प्रदेश सभाका सदस्यहरुले प्रदेशका सबै जिल्लामा सडक सञ्जाललाई राष्ट्रिय राजमार्गसँग जोड्न र विपन्न नागरिकलाई सस्तो उपचारको क्रममा जिल्ला अस्पतालसम्म ल्याउने एम्बुलेन्सको व्यवस्था गर्नुपर्ने, स्थानीय निकायलाई स्वास्थ्य चौकीमा दक्ष चिकित्सक र स्वास्थ्यकर्मीहरुको दरबन्दी सृजना गरी उपचार सेवालाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।

यस्तै, उनीहरुले कृषि उत्पादनलाई आत्मनिर्भर बनाउन र खाद्यान्न बालिलाई प्रदेशभित्र सबै सर्वसाधारहणको पहुँचमा पुर्याउन प्रदेशको पायक पर्ने स्थानमा मलखाद्य कारखानाको स्थापना गर्ने र कृषकलाई मौसमी तरकारीखेती गर्न वित्तिय क्षेत्रको बैंकबाट ऋण उपलब्ध गराउने र कृषकले उत्पादन गरेको तरकारी, फलफुल खाद्यान्नलाई बजारको व्यवस्थापन मिलाउन कृषि मन्त्रालयले समन्वय भूमिका निर्वाह गर्नुपर्ने सरकारलाई माग गरे ।

बागमती प्रदेश सभाको अर्को बैठक भोलि भोलि जेष्ठ १९ गते विहान १०ः३० बजे बस्ने भएको प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले जानकारी दिए । उनका अनुसार, भोलि बस्ने बैठकमा पनि नीति तथा कार्यक्रममाथि छलफल हुने र त्यसपश्चात नीति तथा कार्यक्रम पारित गर्ने कार्यसूची रहेको छ ।