मकवानपुरका तीन स्थानीय तहमा आजबाट विद्यालय बन्द हुने

तु खबर संवाददाता
२०८० जेष्ठ २२,सोमबार १०:०४
file-photo

मकवानपुर । अत्याधिक गर्मी बढेसँगै मकवानपुरको विभिन्न तीन स्थानीय तहमा आजबाट विद्यालय बन्द हुने भएको छ ।

मकवानपुरमा एक उपमहानगरपालिका, एक नगरपालिका र ८ गाउँपालिका गरी १० वटा स्थानीय तह रहेको छ । तीमध्ये आजबाट तीन स्थानीय तहमा विद्यालय बन्द हुने भएको हो ।

आजबाट जिल्लाको मकवानपुरगढी गाउँपलिका, मनहरी गाउँपालिका र राक्सिराङ गाउँपालिकाका निजी तथा सामुदायिक विद्यालय बन्द हुने भएको हो । ती पालिकाहरुले आइतबार एक सूचना जारी गर्दै आज सोमबारबाट पाँच दिन पालिकाभित्र रहेका निजी तथा सामुदायिक विद्यालय बन्द गर्ने निर्णय गरेको जानकारी गराएको हो ।

पालिकाले अत्याधिक गर्मीका कारण पठनपाठनमा प्रतिकूल असर परिरहेको र कतिपय बालबालिकाको स्वास्थ्यमा विभिन्न खाले समस्या देखिएपछि वर्षे विदाबाट कट्टी हुनेगरी आज जेष्ठ २२ गते सोमबारदेखि जेष्ठ २६ गते शुक्रबारसम्म पाँच दिन सबै विद्यालय बन्द गर्ने निर्णय गरेको जानकारी गराएको हो ।

यसअघि हेटौंडा उपमहानगरपालिकाले ६ दिन र बकैया गाउँपालिकाले ७ दिन पालिकाभित्रका निजी तथा सामुदायिक विद्यालयहरु बन्द गर्ने निर्णय गरेको थियो । ती दुबै स्थानीय तहका विद्यालयमा आइतबारबाट पठनपाठन बन्द भइसकेको छ ।