हेटौंडामा प्रदेश स्तरीय नमुना युवा संसद अभ्यास सुरु
मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा प्रदेश स्तरीय नमुना संसद अभ्यास कार्यक्रम सुरु भएको छ । उक्त कार्यक्रम प्रदेश युवा परिषद् बागमतीको आयोजनामा मंगलबारबाट सुरु भएको हो ।
प्रदेशभरीका युवाहरुलाई संसदीय अभ्यास सिकाउने उद्देश्यले सुरु गरिएको युवा संसद अभ्यास कार्यक्रमको उद्घाटन बागमती प्रदेशकी सामाजिक विकास मन्त्री कुमारी मुक्तानको प्रमुख आतिथ्यता एवम् प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईँको सभाध्यक्षतामा भएको हो ।
कार्यक्रममा युवाहरुलाई लोकतन्त्र र लोकतान्त्रिक संस्कृति, विधेयक निर्माण प्रकृया र प्रदेशका संसदीय समितिहरु, व्यवस्थापिका, न्यायपालिका र कार्यपालिकाबीचको सम्बन्ध, संसदीय प्रकृयामा प्रमुख भूमिका खेल्ने पदाधिकारीहरुको चयन लगायतका विषयमा प्रशिक्षण गराइने प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष चौलागाईँले बताए ।
नमुना संसदमा संसदीय अभ्यासका सबै कुराहरु सिकाएर कार्यक्रमको अन्तिम दिन अभ्यास गराएर देखाइने उनको भनाई छ ।
कार्यक्रको उद्घाटन सत्रमा प्रदेश सभाका सदस्यद्वय रत्न प्रसाद ढकाल र प्रेम बहादुर पुलामी (छिन्तु), जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान, राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेत, प्रदेश युवा परिषद्का सदस्य शब्दारानी महर्जन लगायतको आतिथ्यता रहेको थियो ।