३२ दिनपछि भेटियो हिम पहिरोमा बेपत्ता भएका ३ जनाको शव

तु खबर संवाददाता
२०८० जेष्ठ २४,बुधबार १४:२७
file-photo

मुगु । हिमपहिरोमा बेपत्ता भएका तीन जना ३२ दिनपछि सोमबार मृत अवस्थामा भेटिएका छन् ।

मुगुको पाटनमा यार्सागुम्बा टिप्न गएका जुम्लाको पातारासी गाउँपालिका–२ तल्फि गाउँका १५ जनामध्ये ४० वर्षीय तारासिंह सार्की, ३५ वर्षीय पुन्न सार्की र ३५ वर्षीय वीर बोहोराको शव भेटिएको मुगुस्थित जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार, मुगुको मुगुम कार्मारोङ गाउँपालिका–२ च्यार्खु लेखमा गत वैशाख २२ गते यार्सा संकलन गर्न गएका उनीहरु हिउँपहिरोमा परी बेपत्ता भएका थिए ।

बेपत्तामा भएका उनीहरुलाई जिल्ला प्रशासन कार्यालय र पातारासी गाउँपालिकाको समन्वयमा कर्णाली प्रदेश सरकारले हेलिकप्टरसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी बलको टोलीले दुई हप्तासम्म खोजी गर्दा शव फेला परेको प्रहरीले जनाएको छ ।

शव परीक्षणका लागि जिल्ला अस्पताल मुगुबाट चिकित्सकको टोली शव राखिएको स्थानमा पुगेर परीक्षण गरेपछि मृतकका आफन्तलाई शव बुझाइ दाहसंस्कार गरिएको छ ।